बिष्णुपुर गाउँपालिका–६ की ३५ वर्षीया फुलियादेवी मुखियालाई पति जिवछ मुखियाले फलामको रड र लाठीले कुटपिट गरेको भन्दै छोरा मनोज मुखियाले भदौ ११ गते प्रहरी चौकी बिष्णुपुरमा उजुरी दिनु भएको छ ।
अत्यधिक मदिरा सेवन गरी भदौ १० गते राति घर आएका आरोपितलाई सम्झाउन खोज्दा लाठी र फलामको रडले कुटपिट गरी घाइते बनाएको भन्दै मनोजले बुवाविरूद्ध उजुरी दिनु भएको हो ।
मादक पदार्थ सेवन गरी पटक–पटक शारीरिक तथा मानसिक यातना दिने गरेका आरोपितले भदौ १० गते ज्यानै मार्ने गरी आक्रमण गरेको भन्दै मनोजले घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ अनुसार कारवाही गर्न माग गर्नु भएको छ ।
कुटपिटबाट घाइते हुनुभएकी पीडितको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ ।
पीडितको टाउको, घाँटी, आँखामुनि र शरीरका विभिन्न अङ्गमा चोट देखिएको र उपचार भइरहेको अस्पतालले जनाएको छ ।
पतिको यातनाले पटक–पटक विस्थापित भई माइतीघरमा जान बाध्य पीडितले सुरक्षित साथ घरमा बस्न पाउने वातावरणका लागि आग्रहसमेत गर्नु भएको छ ।
दिनभरी ज्याला मजदुरी गरेर राति घर पुग्दा सधैँँ कचकच र झै–झगडा गर्ने गरेको आरोप लगाउँदै पत्नीले नै पहिले हातपात गरे पछि प्रतिकार गर्दा चोट लागेको आरोपितले बताउनु भयो ।
बिष्णुपुर प्रहरी चौकीका इञ्चार्ज प्रमोद साहले मुखिया दम्पतिबिच पटक–पटक हुने घरायसी झगडा गाउँमै मिलाउन धेरै पटक छलफल भए पनि निर्णय नमानेकाले आरोपितलाई चौकीमै झिकाई आवश्यक अनुसन्धान सुरू गरिने बताउनु भएको छ ।