लागू औषध मुद्दामा जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ का २६ वर्षीय निराजन यादवको भदौ १० गते मृत्यु भएको छ ।
त्यसलगत्तै पीडित पक्षले यातना दिएका कारण यादवको मृत्यु भएको भन्दै निश्पक्ष छानबिनको माग गरेको छ ।
लागू औषध मुद्दामा जिल्ला अदालतले ०७६ फागुन ११ गते ९ महिना १९ दिन कैद र ७८ हजार रुपियाँ जरिबानाको फैसला गरेपछि कैद भुक्तान गरिरहेका यादवको भदौ १० गते मृत्यु भएको थियो ।
जेलर सुवासकुमार लामिछानेले छारे रोगबाट पीडित यादवको उपचारका लागि कोशी अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको बताउनु भयो ।
कारागारभित्र यातना दिएका कारण मृत्यु भएको पीडित पक्षले आरोप लगाएपनि यादव लागू औषध प्रयोगकर्ता भएको र छारे रोगबाट पीडित भएको उहाँको भनाइ छ ।
उपचारका लागि अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेकाले मृत्यु शङ्कास्पद भएको निराजनका आफन्त देबेन्द्रकुमार यादवले इन्सेकको अनुगमन टोली समक्ष बताउनु भयो ।
भदौ ६ गते निराजनलाई भेट्दा अवस्था सामान्य रहेको र भदौ १० गते अचानक मृत्यु भएको सूचना कारागारले दिएपछि मृत्यु शङ्कास्पद भएको यादवले बताउनु भयो ।
घटनाका विषयमा निश्पक्ष छानबिन गर्न माग गर्दै देबेन्द्रकुमार यादवले भदौ ११ गते राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालयमा उजुरी दिनु भएको छ ।
यसैबिच इन्सेक प्रदेश १ कार्यालयले भदौ ११ गते पीडित पक्ष र मोरङ कारागारका जेलर सुवासकुमार लामिछानेलाई भेटी घटनाका विषयमा जानकारी लिएको छ ।
इन्सेक प्रदेश १ संयोजक सोमराज थापासहितको टोलीले कोशी अस्पतालमा पीडित पक्षलाई भेटी घटनाका विषयमा जानकारी लिएको छ ।
कारागारभित्र नाइके र भाइ नाइकेका कारण कतिपय अवस्थामा दुर्घटना हुने भएकाले त्यसतर्फ सचेत रहन मानव अधिकार अनुगमन टोलीले कारागार व्यवस्थापन गम्भीर हुन सुझाव दिएको छ ।



