बलात्कार र गर्भपतन मुद्दाका अभियुक्त ऋषिङ गाउँपालिका–३ भिरकोट खाल्डीवासका ५९ वर्षीय बलबहादुर विकलाई प्रहरीले घटना भएको पाँच वर्षपछि भदौ ७ गते साँझ गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध १५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भपतन गराएको भन्दै २०७२ साउन २० गते बलात्कारसम्बन्धी र साउन २१ गते गर्भपतनसम्बन्धी छुट्टाछुट्टै उजुरी परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमल्सिनाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो
विभिन्न अपराध एवम् मुद्दामा जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिबाना र सरकारी बिगो समेत असुल गर्न बाँकी भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले आरोपितलाई उनकै घरबाट गिरफ्तार गरेको डिएसपी तिमल्सिनाले बताउनुभयो ।
जिल्ला अदालत तनहुँले आरोपितविरुद्ध गर्भपतन मुद्दामा २०७२ माघ १० गते १० महिना १२ दिन कैद र बलात्कार मुद्दामा २०७३ फागुन २२ गते ५ वर्ष २ महिना २४ दिन कैद तथा ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो । घटनापछि आरोपित कैद भुक्तान र जरिवाना समेत नतिरीकन हालसम्म नै फरार रहेका थिए ।
आरोपितलाई भदौ ८ गते जिल्ला अदालत समक्ष पेश गरी सजाय भुक्तानकोलागि कारागारमा पठाइएको छ ।