१७ वर्षीया बालिकालाई बेचबिखनका लागि भारत पुर्याएको आरोपमा नुवाकोट जिल्ला तादी गाउँपालिका–३ खरानिटार घर भई काठमाडौँस्थित तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने २२ वर्षीय अर्पण भनिने राजु तामाङलाई नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले भदौ १ गते गिरफ्तार गरेको छ ।
तामाङलाई ब्युरोले भदौ २ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ । पीडितले आफू बेचबिखनमा परेको भन्दै साउन २९ गते तामाङ विरुद्ध नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोमा उजुरी दिएकी थिइन् ।
तामाङसँग ०७६ साउनबाट चिनजान भएको र विवाह गर्ने प्रलोभनमा गोंगबुस्थित फेसबुक गेष्ट हाउसमा केही दिनसँगै पतिपत्नीको रूपमा बसेको र राम्रो काममा लगाउने साथीको जिम्मा लगाएको पीडितले उजुरीमा उल्लेख रहेको व्युरोका इन्सेक्टर सुवास केसीले जानकारी दिनुभयो ।
इन्सपेक्टर केसीका अनुसार उजुरीमा साथीले नै पीडितलाई काठमाडौँबाट काँकडभिट्टा सीमा नाका हुँदै ०७६ असोज ६ गते भारत पुर्याएको रभारतीय नागरिकको जिम्मा लगाइएको बताइएको छ । भारतमै रहँदा आफू बेचबिखनमा परेको थाहा पाएपछि नेपालीको सम्पर्कमा आएकी पीडितलाई उद्धार गरी असोज महिनामा कैलालीस्थित टिकापुर इलाका प्रहरी कार्यालयलाई बुझाएको थियो ।
तर, मानसिक तनावका कारण उनलाई मनोपरामर्श सेवा दिइएको र हालै मात्र आरोपित विरुद्ध उजुरी दिन आएकी थिइन् । व्युरोका इन्सपेक्टर केसीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरेको बताउनुभयो ।