आदर्श कोटवाल गाउँपालिका–६ पटेर्वा र सिम्रोनगढ नगरपालिका–११ भगवानपुरको जमिन सिचाई गर्ने कुलो थुनेर पानी रोकेको विषयमा भदौ १ गते भएको विवादका क्रममा झडप हुदाँ दुबै पक्षका १७ जना र चार जना प्रहरी गरी २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भएको छ ।
झडपका क्रममा भिड नियन्त्रण गरी क्षति हुन नदिन इलाका प्रहरी कार्यालय सिम्रोनगढ र जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रको कमाण्डमा रहेको प्रहरीले १३ राउण्ड हवाई फायर र ६ राउण्ड अश्रु ग्याँस प्रहार गरेर झडपलाई साम्य पारेको डिएसपी गौतम मिश्रले बताउनु भएको छ ।
दुबै गाउँ भएर निस्केको कुलोको विषयमा भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरी चौकी कचोर्वामा कार्यरत प्रहरी हवल्दार ३२ वर्षीय सुमन मगर, प्रहरी जवान २५ वर्षीय विवेक ठाकुर, ३५ वर्षीय रोहित साह र इलाका प्रहरी कार्यालय सिम्रोनगढमा कार्यरत प्रहरी जवान २६ वर्षीय उत्तम अधिकारीको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेकाले सोही दिन सिम्रोनगढको क्लिनिकमा उपचार गरी प्रहरी चौकीमा आराम गरिरहेको डिएसपी गौतम मिश्रले बताउनु भएको छ ।
पटेर्वा गाउँका नागरिकले पटेर्वा बजारमा रहेका तीन ओटा पसल तोडफोड गरेको वडा अध्यक्ष हेमचन्द्र प्रसाद जयसवालले आरोप लगाउनु भएको छ ।
कचोर्वा पटेर्वा कुलोमा बाँध बाँधेर पानीको मुहान छेकेर बालि डुबानमा पारी माछा मार्न हुँदैन भनि सम्झाउँदा आदर्श कोटवाल गाँउपालिका–६ पटेर्वाका आफूसहित १५ जनालाई आक्रमण गरी घाइते बनाएको सोही वडाका वडा अध्यक्ष ५१ वर्षीय मधुसुधन प्रसाद जयसवालले बताउनु भएको छ ।
घाइते हुनेहरूमा सोही टोलका २१ वर्षीय नाथु साह कलवार, ४१ वर्षीय प्रमोद प्रसाद जयसवाल, ३० वर्षीय हरिचरण साह कलवार, ३२ वर्षीय देवशरण साह कानु, ५६ वर्षीय राजेन्द्र साह, २८ वर्षीय धर्मेन्द्र प्रसाद जयसवाल, ३० वर्षीय रामविलास मुखिया, ६० वर्षीय श्रीचन साह कलवार, २८ वर्षीय विगन साह, २६ वर्षीय गौरीशंकर पटेल, २२ वर्षीय नितेश जयसवाल, ५१ वर्षीय वडा अध्यक्ष मधुसुधन प्रसाद जयसवाल, ४१ वर्षीय राजेश्वर साह कलवार, २३ वर्षीय बिन्दु सोनार र ४१ वर्षीय नरेश साह कानु रहेको वडा अध्यक्ष जयसवाल रहेका छन् ।
सिम्रोनगढ नपा–११ भगवानपुरका ३० वर्षीय नथुनी महतो, ४० वर्षीय राजु मुखियाविन, ३५ वर्षीय मगु मुखियाविन, ५५ वर्षीय शम्भु महतो नुनिया, ४० वर्षीय राजकिशोर साह तेली, २५ वर्षीय नकछेद मुखिया, ४५ वर्षीय रामाधार साहकानु, ३५ वर्षीय डुमरिया साह तेली, ४५ वर्षीय जयराम साह तेली, ३० वर्षीय अनिलप्रसाद जयसवाल, ४० वर्षीय सुरेन्द्र साह कलवार, ३० वर्षीय अजय पटेल र ३० वर्षीय बमभोला पटेललगायतकाले लठ्ठी, बाँसको चिरपट र साना ढुङ्गा प्रहार गरेर आक्रमण गरेको वडा अध्यक्ष जयसवालले आरोप लगाउनु भयो ।
सिम्रोनगढ नपा–११ भगवानपुर टोलकी ४५ वर्षीया जानकीदेवी नुनियाइन र १५ वर्षीय दिनेश पासवान घाइते भएकाले उपचारका लागि कलैया गएको सोही वडाका वडा अध्यक्ष हेमचन्द्रप्रसाद जयसवालले बताउनु भयो ।
दुबै पक्षका घाइतेहरूको उपचार बारा नर्सिङ्ग होम कलैयामा भदौ १ गते भएको र थप उपचारका लागि बीरगंज गएको वडा अध्यक्ष जयसवालले बताउनु भएको छ ।