अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालयद्वारा सञ्चालित कार्यक्रम र गतिविधिको कात्तिक २६ गते केन्द्रीय र बाहृ्य टोलीले अनुगमन गरेको छ ।
विनोद भट्टराई र यादव चापागाई सम्मिलित टोलीले नेपालगञ्जमा नागरिक समाज, पेशागत सङ्घ सङ्गठन, कानुन व्यवसायी, सञ्चारकर्मी, अधिकारकर्मी तथा सरकारी निकायहरूसँग छलफल गरेको छ ।

अनुगमन टोलीले इन्सेकले सञ्चालन गरेका कार्यक्रम, गतिविधि र अभियानबाट भएका उपलब्धि, कार्यक्रमको प्रभाव, समस्या र चुनौतीका बारेमा सरोकारवालासँग छलफल गरेको इन्सेक प्रदेश ५ का संयोजक भोला महतले बताए ।
पीडितको आवाजलाई सम्बन्धित निकाय पुर्याउने र जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम र नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्ने कार्य एकदमै राम्रो भएको राष्ट्रिय मानव अधिकार अयोगका अधिकृत टङ्क खनालले बताए ।

कार्यक्रममा फियान नेपालका संयोजक सुरेश गौतमले इन्सेकले गरेका कार्य र भूमिका उल्लेखनीय रहेको बताउँदै इन्सेकले गर्ने समन्वयकारी भूमिका अरूले उदाहरणका रूपमा लिने गरेको बताए ।
अधिवक्ता बसन्त गौतमले सामाजिक न्याय र अधिकारमा काम गर्ने संस्थामा इन्सेक नै अग्रणी रहेको बताए । उनले नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रकाशित घटनालाई फोटो कपी गरेर उच्च अदालत पेश गरेको बताए । उनले स्थानीय शान्ति समितिले पनि सिफारिस गर्दा नेपाल मानव अधिकार वर्ष पुस्तकलाई विश्वासिलो आधार मान्ने गरेको बताए ।
अधिवक्ता विश्वजित तिवारीले इन्सेकको सक्रिय सहभागितामा पिआइएलपछि नगरपालिकाले चिल्डे्रन पार्क निर्माण गर्न लागेको बताए ।
स्थानीय स्तरमा सेवा प्रदायक र सेवाग्राहीबीच काम गर्ने र समस्या समधान गर्ने इन्सेकको कार्यक्रम प्रभावकारी भएको अधिवक्ता सुनिल श्रेष्ठले बताए ।