देशमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सबै स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कोभिड सङ्क्रमितहरूको सूचना स्थानीय तहलाई उपलब्ध गराउन तथा नागरिकको स्वास्थ्यको अधिकार संरक्षण गर्न पत्राचार गरिएको आयोगले ०७७ साउन ३२ गते एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।
आफ्नो इलाका भित्रका कोभिड–१९ बाट सङ्क्रमित भएका व्यक्तिहरूको सूचना जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुन नसकेको स्थानीय तहहरूले गुनासो गरेको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ । सो कारण आफ्नो क्षेत्रभित्र कहाँ र के कति सङ्ख्यामा सङ्क्रमितहरू रहेका छन् र परिवार तथा समुदायको संरक्षणको लागि के कस्तो पहल गर्नु पर्ने भन्ने जानकारी प्राप्त हुन नसकेको गुनासो कतिपय स्थानीय तहबाट प्राप्त हुन आएको आयोगले जनाएको छ ।
साथै, स्वास्थ्य मन्त्रालयका प्रवक्ताले हरेक दिन सङ्क्रमणको अवस्था सम्बन्धमा जानकारी दिँदा काठमाडौँ लगायत अन्य ठूला शहरको कुन क्षेत्र र व्यवसायका व्यक्तिहरूमा सङ्क्रमण देखियो सो समेत स्पष्ट गर्दा स्थानीय तहहरूलाई थप सजगता अपनाउन मद्दत मिल्ने अयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सङ्क्रामक रोग समुदायस्तरमा फैलनबाट रोक्न, आम नागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन सबै स्थानीय तह तथा नेपाल सरकारलाई आग्रह गरिएको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ