निजगढ नपा–१३ भक्तलाल टोल बस्ने ३९ वर्षीया निर्मला गोले रुम्बालाई साउन २९ गते बिहान ४३ वर्षीय पति शुक्ले रुम्बाले आपसी विवाद हुँदा छाति र पेटमा लात्ती र मुक्काले प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हेटौडाको प्रहरीले साउन ३० गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हेटौडाको प्रहरीले साउन ३० गते आरोपितलाई इलाका प्रहरी कार्यालय निजगढको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर बिकाश थपलीयाले बताउनु भयो ।
एक हप्ता अगाडी छोरीलाई टाउकोमा हानेर चोट लागेकाले जथाभावि हान्न हुँदैन भनि ज्वाईंलाई सम्झाएको मृतक निर्मला गोले रुम्बाको बुबाले बताउनु भयो ।
उहाँले एक मात्र छोरीलाई ज्वाईँले हत्या गरेको भन्दै कानुन अनुसार कारवाहीका लागि प्रहरी प्रशासनसँग माग गर्नु भएको छ ।
मृतकका दाजु ४५ वर्षीय रामनाथ रूम्बाले साउन २९ गते नै लिखित उजुरी इलाका प्रहरी कार्यालय निजगढमा दिएको बताउनु भयो ।
मृतकको शव हेटौडा अस्पतालमा साउन ३० गते पोष्टमार्टम गरी परिवारले बुझेको इन्स्पेक्टर थपलीयाले बताउनु भयो ।
पतिको कुटपिटबाट घाइते भएकी निर्मलालाई गाउँको क्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेटौडा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको मृतकका दाई रामनाथ रुम्बाले बताउनु भयो ।