अग्निसाईर कृष्णसवरण गाउँपालिका–४ बनौलीकी १६ वर्षीया बालिका र विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरका ३२ वर्षीय बिन्देश्वर दासबीच साउन ३० गते हुन लागेको बालविवाह गाउँबासी, प्रहरी र इन्सेकको पहलमा रोकिएको छ ।
बालिकाका आफन्त, गाउँलेहरूको प्रयास तथा प्रहरी र इन्सेकको सहयोगमा हुनै लागेको बालविवाह रोकिएको पीडितका दाजु सञ्जयकुमार दासले बताउनु भयो ।
बालविवाह हुन लागेको सूचना दिनुहुँदै बालिकाका दाजु अजयकुमार दासले इन्सेक सप्तरीको कार्यालयमा आएर साउन ३० गते बिहान इन्सेक प्रतिनिधिसँग आग्रह गर्नु भयो ।
विवाहको साडीमा सजिएकी बालिकालाई बिवाहस्थल लैजान बेहुला पक्षले पठाएको कार गाउँलेहरूले रित्तै फर्काइ दिएको र विवाह रोकेको गाउँलेहरूले बताए ।
इन्सेक प्रतिनिधिले प्रहरी चौकी डिमनका प्रहरी हवल्दार महेशप्रसाद बैठालाई फोन गरी बालविवाह रोक्न र लुकीछिपी हुन सक्ने विवाहमा निगरानी राख्न आग्रह गर्नु भयो ।
बालिकाको घर पुगेका प्रहरी हवल्दार वैठाले गाउँलेहरूले नै बालविवाह रोकेको र आफूले उमेर नपुगी बालिकाको विवाह गरेमा कानुनी कारवाही हुने भन्दै कानुनी व्यवस्थाबारे अभिभावकहरूलाई सम्झाएको फोनमार्फत इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।
दाइजो बिना नै विवाहका लागि युवकको परिवार तयार भएकाले उमेरको ख्यालै नगरी बालिकाको विवाह गर्न राजी भएकोमा गाउँलेहरूले सम्झाएपछि विवाह नगर्ने निर्णयमा पुगेको बालिकाका बुबाले बताउनु भयो ।