जिल्लाको पूर्बी उत्तरी क्षेत्रका स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका, जगन्ननाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयहरुले आफूहरुले खाद्य सङ्कट झेल्नु परेको गुनासो गरेका छन् ।
आफूहरुले उत्पादन गरेको अन्नबालीले चार महिना पनि खान नपुग्ने र खाद्य डिपोमा चामल नपाउने गरेकोले खाद्य सङ्कट झेल्नु परेको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीय मानबहादुर रोकायाले गुनासो गर्नु भयो ।
आर्थिक अवस्था राम्रो भएकाहरुले डिपोमा चामल भएकै बेला किनेर राखे तर आफूहरु जस्ता दैनिक ज्याला मजदुरी गरेर दैनिकी चलाउने परिवारलाई अहिले आएर खाद्यान्न अभाव भएको बुढिनन्दा नगरपालिका–१ का मुक्त हलिया रंगी बिकले दुखेसो पोख्नु भयो ।
नागरिक समाज, बाजुराका अध्यक्ष जनेश भण्डारीले खाद्य डिपोमा चामल सकिएको कारण स्थानीयहरुलाई खाद्यन्न सङ्कट उत्पन्न भएको बताउँदै बजारमा पाउने अन्य सामानको मूल्य पनि आकासियको कारण आर्थिक अवस्था कमजोर भएकाहरुलाई समस्या परेको बताउनु भयो ।
हिमाली गाउँपालिकामा बिगत दुई महिनादेखि र बुढिनन्दा नगरपालिकास्थित कोल्टि खाद्य डीपोमा एक महिनादेखि चामल सकिएको भए पनि स्थानीय तहबाट कुनै प्रयास नभएको स्थानीयहरुको आरोप छ ।
हिमाली गाउँपालिकास्थित कवाडी खाद्य डीपोमा रहेको चामल वडाका जनप्रतिनिधि, प्रहरी र स्थानीयको रोहोबरमा ठेकेदारले जेठ महिनामै बिक्री गरेर सकेको कारण हाल स्थानीयहरुलाई खाद्यान्न अभाव भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘चामल डिपोमा मात्र नभएर स्थानीय बजारमा अभाव रहेको छ । किनेर खान खोज्दा पनि पाउने अवस्था छैन् । स्थानीयहरुलाई भोकमारी हुने सम्भावना अत्याधिक रहेको छ । अविरल वर्षाका कारण मार्तडी कोल्टि सडक बन्द भएको छ । चामल खच्चडमा ढुवानी गर्नसमेत समस्या भएको छ ।’
कोल्टि खाद्य डिपोमा स्टक रहेको चामल पनि सकिएको र गत आर्थिक वर्षमा चामल ढुवानीको जिम्मा पाएका ठेकेदारले ७ हजार क्वीन्टलमध्ये २ हजार ५ सय क्वीन्टल चमाल ढुवानी नै नगरी दिएका कारण खाद्यान्न अभाव भएको मार्तडी खाद्य डिपोका प्रमुख मेखराज ओझाले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘चामल ढुवानी पाएको ठेकेदारले सबै चावल ढुवानी गरिदिएको भए केही दिनसम्म भोकमरी हुने थिएन । हाल डिपोमा भएको सबै चावल सकिएको छ । ढुवानीको लागि कुनै प्रकृया नै अगाडी बढेको छैन् । वर्षातले सडक अवरुद्ध छ । भरिया र खच्चडमार्फत खाद्यान्न ढुवानी गर्न पनि सम्भव छैन् । ’
बुढिनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले अविरल वर्षाका कारण बाढी पहिरोले सडक अवरुद्ध भएकोले खाद्यान्न ढुवानीमा समस्या भएको बताउनु भयो । उहाँले भन्नु भयो– ‘समस्या समाधानका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय भइरहेको छ ।’