बुढीगङ्गा गाउँपालिका– २ खारजी कोहबराको मुसहर वस्तीमा आक्रमण गरेको आरोपमा प्रहरीले साउन २३ गते ६ जनालाई गिरफ्तार गरेको छ ।
प्रहरीले विराटनगर महानगरपालिका–१४ का ३६ वर्षीय सञ्जय यादव, ३६ वर्षीय उत्तिमलाल यादव, ४५ वर्षीय राजदेव यादव, २५ वर्षीय ब्रम्हदेव यादव, १८ वर्षीय दीपक साह, ३२ वर्षीय विन्दु यादवलाई गिरफ्तार गरेको हो । सोही घटनाका आरोपित बुढीगङ्गा गाउँपालिका–२ का ३५ वर्षीय रञ्जीत यादव, ४० वीरेन्द्र गडेरी, ३५ वर्षीय सुरेन गडेरी, ४० वर्षीय वीरेन गडेरी, २५ वर्षीय धीरेन गडेरी र २० वर्षीय चल्मलिया यादव फरार रहेको प्रहरीले जनाएको छ ।
मुसहरमाथि साउन १९ गते मध्यराति घरेलु हतियारले आक्रमण गरी मरणासन्न हुने अवस्थामा पुर्याएको दलित मुक्ति मोर्चा मोरङका अध्यक्ष कपिल सुनारले बताउनु भयो । दलित अगुवाहरूको दबाबपछि प्रहरीले आक्रमण गर्नेलाई गिरफ्तार गरेको उहाँले बताउनु भयो । यसअघि प्रहरीले घटनाका आरोपितलाई सामान्य सोधपुछ गरी रिहा गरेको थियो । आक्रमणमा परी पाँच जना गम्भीर घाइते भएका छन ।
गाउँको सामान्य विवादमा ५० वर्षीय सरस्वती ऋषिदेवको परिवारसँग बदला लिन स्थानीय २० वर्षीय चल्मलिया यादवले विराटनगर महानगरपालिका–१४ जतुवाबाट आक्रमणकारीको समूह बोलाएर आक्रमण गराएको अधिकारकर्मी कपिल सुनारले बताउनु भयो । आक्रमणबाट ५० वर्षीया सरस्वती ऋषिदेव, उहाँका भाइहरू ४० वर्षीय पन्नालाल ऋषिदेव, ३८ वर्षीय चुन्नीलाल ऋषिदेव, ३५ वर्षीय रामजी ऋषिदेव र ३३ वर्षीय श्याम ऋषिदेव गम्भीर घाइते हुनु भएको छ । घाइतेको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगङ्गामा उपचार भइरहेको छ । स्थानीय सरस्वती मगरका अनुसार बैजनाथको घरमा साउन १९ गते साँझ हुलका हुल नयाँ मान्छे आएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । तर, प्रहरीले बैजनाथका पाहुना भनेर सोधपुछ समेत नगरेको उहाँले बताउनुभयो ।
हातहतियारसहित मध्यरातमा घरमै आएका समूहबाट आमासहित परिवारका सदस्यमाथि आक्रमण भएको प्रत्यक्षदर्शी २४ वर्षीया उर्मिला ऋषिदेवले बताउनु भयो । परिवारका सदस्य अस्पतालमा उपचार गराइरहँदा प्रहरीले आक्रमणकारीलाई रिहा गरेको पीडित पक्षको आरोप छ । आक्रमणकारीलाई प्रहरीले रिहा गरेपछि २४ वर्षीया उर्मिला ऋषिदेवले पुनः आक्रमणको भयले साउन २२ गते घरभित्रै पासो लगाएर आत्महत्या गरेको अधिकारकर्मी तथा गैर सरकारी संस्था महासङ्घका केन्द्रीय सचिव उमेश विश्वकर्माले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । पीडितहरूले आरोपितलाई कारबाहीको माग गर्दै साउन २२ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए ।
सो घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्ति दिन माग गर्दै दलित अधिकारकर्मीहरूले साउन २४ गते प्रेस विज्ञप्ति मार्फत माग गरेका छन् ।
बुढीगङ्गा गाउँपालिका–२ खार्जीमा भएको आक्रमणबारे सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पीडितहरूलाई भेटी घटनाको बारेमा जानकारी लिनु भएको छ ।
साउन २४ गते जनप्रतिनिधि, अधिकारकर्मी, प्रहरी र राजनीतिक दलका कार्यकर्ता सहित पीडितहरूलाई भेटर राज्यमन्त्री गजमेरले घटनाका बारेमा जानकारी लिनु भएको हो ।
राज्यमन्त्री गजमेरले विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगङ्गामा उपचाररत पीडितको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनु भएको छ । राज्यमन्त्री गजमेरसँगै घटनास्थलमा पुग्नु भएका पूर्व सांसद खेम नेपाली, नेपाली कांग्रेस गाउँ सभापति जितनारायण थापा, नेकपा मोरङ सदस्य कपिल सुनार, अधिकारकर्मी उमेश विश्वकर्मालगायतले घटनामा संलग्न फरारहरूलाई पनि गिरफ्तार गरी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । बुढीगङ्गा गाउँपालिका अध्यक्ष वालचन्द्र माझीले घाइते परिवारलाई आवश्यक राहत प्रदान गर्ने इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।