विराटनगर महानगरपालिका–१ की २९ वर्षीया देविका कँडेल घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले उनका ३८ वर्षीय पति खगेन्द्र घिमिरे र ४० वर्षीया आमाजु होमा घिमिरेलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
कात्तिक २५ गते राति परिवारका सदस्य मिलेर कुटपिट गरेपछि पति र आमाजुलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् । होमा नेपाली कांग्रेस निकट तरुण दलकी पूर्व केन्द्रीय सदस्य समेत हुन् ।
पाँच वर्ष अगाडि विवाह गरेकी देवीकाकी एक छोरी छन् । पीडित महिलाका अनुसार विवाह भएपछि नै मानसिक यातना दिन थालेका उनीहरूले एक वर्ष अगाडिदेखि कुटपिट गर्दै आएका थिए ।
कात्तिक २५ गते पीडित महिलालाई आरोपितहरूले कुटपिट गर्दैगर्दा थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
विवाह दर्ता र छोरीको जन्मदर्ता समेत नगरी पत्नीलाई कानुनी मान्यता दिन अस्वीकार गर्दै पति र घरपरिवारले यातना दिएकोमा विराटनगर–१ का स्थानीयले त्यसको विरोध गरेका छन् ।
कात्तिक २५ गते विराटनगर महानगरपालिकाको न्यायिक समितिमा विवाह दर्ता, छोरीको जन्मदर्ता र खानलाउने प्रबन्ध गरिदिन आग्रह गर्दै निवेदन दिएपछि सोही रात उनीमाथि कुटपिट भएको अधिकारकर्मी योशा गुरागाईले बताइन् ।
अधिकारकर्मी योशाले देवीकालाई घरबाट हटाउन सम्पति लुकाउने र सम्बन्ध विच्छेद गर्न दबाब दिँदै यातनासमेत दिने गरेको बताइन् ।
देविकामाथि कुटपिट तथा मानसिक यातना दिएपछि कानुनी उपचारका लागि प्रहरीमा उजुरी गरिएको पीडितका दाजु कृष्ण कँडेलले बताए । खगेन्द्र वैदेशिक रोजगारीबाट भर्खरै फर्किएका हुन् भने देवीका विराट नर्सिङ होममा काम गर्छिन् ।