INSEC Online

📅 २०८३ जेष्ठ २१

कृषि प्राविधिकको अभावमा लगाएको धान बाली डढेर गएको किसानको गुनासो

जुगल गाउपालिका–७ की कृषक सावित्री घिमिरेले लगाएको धान बालीमा डडुवा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन गाउँपालिकाको कृषि शाखामा पुग्दा समेत कृषि प्राविधिक पाउनु भएन । कृषि प्राविधिकको सल्लाह नपाउँदा उहाँले खेतमा लगाएको धानमा डडुवा रोगले ग्रस्त बनाएको बताउनु भएको छ  ।

कृषि प्राविधिकको सल्लाह लिएर उपचार गर्न पाएको भए धानमा लागेको रोग निको हुन्थ्योहोला । तर, प्राविधिक नपाउँदा यस वर्षको मेहनत त्यसै खेर जाने हो की भन्ने चिन्त लागेको  घिमिरेले भन्नुभयो ।

सोही गाउपालिका–४ का रुद्रप्रसाद अधिकारीको पनि गुनासो त्यस्तै छ । ‘खै अब त गाउँगाउँमा सिंहदरवार आयो भन्छन् । तर हामी किसानको खेतबारीमा लगाएको बालिमा रोगलाग्दा कृषि प्राविधिक समेत पाएनौं’ ।

‘माटो अनुसारको बालिनालि लगाउँदाहोस् वा लगाएको बालिनालिमा किरा लाग्दाहोस् के गर्ने भनेर प्राविधिकको सल्लाह पाइँदैन’ । कृषक सावित्री घिमिरेले गुनासो गर्नुभयो ।

भौगोलिक रूपले जिल्लाकै सबैभन्दा ठूलो गाउपालिका रहेको जुगल गाउँपालिकाले “एक गाउँ एक कृषि प्राविधिक” कार्यक्रम सञ्चालन गरिरहेको भने पनि पर्याप्त कृषि प्राविधिक नहुँदा कृषकहरूले प्राविधिक सेवा पाउन सकेका छैनन् ।

उहाँहरूले गाउँपालिका कृषि शाखा प्रमुख लालबाहादुर बयकसँग प्राविधको माग गर्दा कुनै सुनुवाई नभएकोले रोग नियन्त्रण हुन नसकेको र उचित प्राविधिक सल्लाह नपाउँदा कृषि उत्पादनले जीवन धान्न मुस्किल भएको इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो ।

सात ओटा वडा रहेको सो गाउँपालिकामा तीन जना मात्र कृषि प्राविधिकहरू रहेको गाउपालिकाको कृषि शाखा प्रमुख बयकले बताउनुभयो । तीनजना पनि कार्यक्रम अवधिभरका लागि करारका कर्मचारी हुन् । तीनजना प्रविधिक मध्य पनि एकजनाले गाउँपालिकाको कृषि शाखामा प्रशासनको काम गरेर बस्नु पर्ने भएकाले दुई जना प्राविधिक कृषकहरूको खेतवारीमा पुग्न त परै जाओस सल्लाह लिन कार्यालयमा आएका कृषकहरूलाई सल्लाह दिन समेत नभ्याएको  प्रमुख बयकले बताउनुभयो ।

प्रयाप्त प्राविधिकहरूको अभावमा गाउँगाउँमा किसानको खेतबारीमा पुगेर सेवा दिने भनिए पनि प्राविधिकको अभावले सो पुरा गराउन नसकेको बयकले बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले कृषकको माग सम्बोधन गरिने बताउनुभयो । उहाँले गाउँपालिकाले कृषि प्राविधिकको प्रयाप्त मात्रामा ब्व्यवस्था गरी कृषकहरूलाई सेवा दिने बताउनुभयो ।

समयमा मल बिउ नपाउने समस्या त छदैछ । तर, कृषकले लगाएको बालिमा रोग लाग्दा कृषि प्राविधिकको सल्लाह नपाउँदा कृषि उत्पादनमा कमी आएको जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले बताउनु भयो । यो समस्या जिल्ला भरिको समस्या भएकाले केन्द्र सरकारले नै यो समस्यालाई समाधान गनुपर्ने उहाँको सुझाव छ ।

अन्य

भिडियो