चितवन राष्ट्रिय निकुञ्जका सेनादवरा कुटपिट पश्चात् मृत्यु भएका भनिएका राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको घटनाकोसम्बन्धमा इन्सेक बागमती प्रदेशले सरोकारवालासँग प्रत्यक्ष भेटघाट र स्थलगत अनुमगन गरेको छ । साउन १ गते दुई जना महिलासहित सात सनालाई निकन्ज प्रवेश गरेको आरोपमा निकुन्जका एक जना सुरक्षाकर्मीले नियन्त्रणमा लिई लिगलिगे चेकपोष्टमा लाने क्रममा कुटपिट गरे र उपचारका क्रममा सो घटनाका एक जना घाइते राजकुमार प्रजाको साउन ८ गते उपचारको क्रममा भरतपुर अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको थियो ।
इन्सेक बागमती प्रदेश संयोजक कृष्णप्रसाद गौतमको नेतृत्वमा इन्सेक वागमती प्रदेश कार्यालयका गणेश भण्डारी र चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारी तथा एडभोकेसी फोरमका डाइरेक्टर ओमप्रकाश ठकुरी, थर्ड एलाइन्सक प्रविन यादव तथा आसीटिजेका काशीराज ढुङगानाले संयुक्त रूपमा पीडित तथा सरोकारवालाहरूसँग घटनााको बारेमा जानकारी लिएको छ ।
पीडित परिवार, त्यस क्षेत्रका जनप्रतिनिधि, आफन्तजन, घटनाका अन्य पीडित, प्रमुख जिल्ला अधिकारी र चितवन प्रहरी प्रमुखसँग इन्सेक बागमती प्रदेश सहितको टोलीले साउन ११ र १२ गते घटनाको स्थलगत अनुगमन गरेको हो ।
राप्ती नगरपालिका–२ सूर्यमुखी टोलमा पुगी पीडित राजकुमारको आमा ३७ वर्षीया आइतीमाया र पत्नी २१ वर्षीया रिकुमाया चेपाङसँग प्रत्यक्ष कुराकानी गरेको हो । त्यस्तै राजकुमारसँगै निकुञ्ज गएर फर्कदा सेनाले कुटपिट गरेका ३२ वर्षीय सन्तलाल चेपाङ र पुर्ण चेपाङसँग पनि घटनाको बारेमा जानकारी लिएको थियो ।
मानव अधिकारकर्मीको टोलीसँग मृतककी आमा आइतीमायाले आफूहरूलाई न्याय दिलाइदिन माग गर्नुभयो । पत्नी रिकुमायाले घरमा कमाइ ल्याउने एकमात्र व्यक्ति पनि मारिँदा अब के कसरी बाँच्ने र बच्चा हुर्काउने भन्ने समस्या परेको बताउनुभयो । उनको साथमा डेढ वर्षकी छोरी छिन् ।
सेनाले कुटपिट गरेको कारण अझै पनि घाँटी राम्ररी दायाँबाँया गर्न नसकेको पीडित सन्तलाल प्रजले बताउनु भयो। घाँटीको देव्रे पट्टि अझै निलडाम रहेको भन्दै सन्तलालले सेनाको एक लौरीले भूईँमा थचक्कै बसेको बताउनुभयो । त्यसपछि पानीमा सुताएर लाठी र लात्ताले हानेको, गह्ुङ्गो काठको मुडा बोक्न लगाएको, सय चोटी उत्तानो र घोप्टो पुस अप गर्न लगाएको नियन्त्रणमा लिइएका सन्तलालले बताउनुभयो । उहाँले सँगै भएका महिलालाई गाली गलौज गरी अपशब्द प्रयोग गरे पनि सेनाले कुटपिट नगरेको जानकारी दिनु भयो ।
राप्ती नगरपालिका वडा २ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले पीडित परिवारलाई तत्कालका लागि खाद्य राहतको व्यवस्था गरिएको बताउनुभयो । राजकुमारको प्राथमिक उपचार गरिएको स्थानीय राप्ती मेडिकल हलका सञ्चालक नन्दलाल सापकोटाले साउन ७ गते १० बजे तिर उपचारका लागि आएका राजकुमार चेपाङको छाती, ढाड र फोक्सोमा समस्या बढी भएकाले तत्कालै भरतपुर थप उपचारका लागि जान सिफारिस गरिएको बताउनुभयो । सो क्रममा पीडितका आफन्तले सेनाको कुटपिटबाट सख्त घाइते राजकुमारले सोही दिन रगत वान्ता गरेको र घरमा आएको चारदिनपछि पनि खकारमा रगत आउने गरेको बताएको सापकोटाल जानकारी दिनु भयो ।
घटनाको सम्बन्धमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनका सम्बन्धमा प्रहरीमा उजुरी दर्ता भई अनुसन्धानको प्रकृयमा रहेको राहतको लागि तत्काल निकुञ्ज र पीडित परिवारबीच केही मौखिक सहमति भएको बताउनुभयो । मृतक परिवारलाई तत्काल क्रिया खर्च भनी १ लाख रुपैयाँ निकुञ्जले दिने, मृतकको पोष्टमार्टम काठमाडौंँ त्रिवि शिक्षण अस्पतामला गर्ने, बालिका पढ्न सक्ने भएपछि मासिक १ हजार रुपैयाँ दिने र पीडितको घर बनाउन आवश्यक काठको व्यवस्था निकुञ्जले गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले अनुसन्धान प्रभावित नहोस भन्नका लागि तत्कालै प्रहरीले अनुसन्धान प्रक्रिया थालेको बताउनुभयो । सेनाको कुटपिटबाट घाइते भएका राजकुमारको साउन ८ गते बिहान उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा भरतपुर स्थित केन्द्रीय बस टर्मिनल नजिक आइपूग्दा मृत्यु भएको उहाँले बताउनुभयो । सँगै आएका आफन्तले निकुञ्जको बटुकदल गण अन्तर्गत लिगलिगे पोष्टमा कार्यरत ६ जना आर्मीले कुटपिट गरी घाइते भएको र त्यसैको चोटका कारण निधन भएको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा साउन ८ गते नै पीडितको वुवा बीरबहादुरले उजुरी दिएको एसपी गुरुङले अनुगमन टोलिलाई जानकारी दिनु भयो । उहाँले साउन ९ गते घटनास्थल मुचुल्का उठाएको समेत जानकारी दिनुभयो । एसपी गुरुङले शव पोष्टमार्टमका लागि काठमाडौँमा पठाएको तथा मृतकको भिसेरा समेत परीक्षण गरिने बताउनु भयो ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई कुटपिट गरेका अन्य चार जना स्थानीय राप्ती नगरपालिका–२ मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजाको साउन १० गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो ।