सेनाको कुटपिटबाट घाइते भएका राप्ती नगरपालिका–२ मिलनटोलका २४ वर्षीय राजकुमार चेपाङको साउन ७ गते मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले साउन १ गते राजकुमार सहित सात जना सर्वसाधरणलाई नियन्त्रणमा लिई कुटपिट गरेको थियो ।
सेनाको नियन्त्रणमा यातना समेत पाएका सन्तलाल चेपाङले इन्सेक प्रतिनिधिलाई बताए अनुसार सेनाले उनीहरूलाई खोला किनारमा पानीमा सुताएर लाठी र लात्ताले हानेको, जङ्गलमा भएका काठका मुडा लगायतका भारी बोक्न लगाएको, सय चोटी उत्तानो र घोप्टो पुस अप गर्न लगाएका थिए ।
मृतक राजकुरमारका बुबा विष्णुलालले सेनाको कुटपिट तथा यातनाबाट घाइते भएका उनलाई स्थानीय मेडिकलमा उपचार गर्दा पनि निको नभएपछि भरतपुर अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।
निगुरो तथा घोँगी टिप्न भनेर जङ्गल गएका दुई महिला सहित सात जनाको टोलीलाई सेनाले पिछागरी नियन्त्रणमा लिाएको र निकुञ्जको पोष्टमा लाने क्रममा बाटोमा नै कुटपिट गर्नुका साथै यातना दिएको थियो । सातै जनालाई सेनाले नियत्रणमा लिाए पनि राजकुमार सहितका पाँच जना पुरुषलाई कुटपिट गर्नुका साथै यातना दिएको पीडितहरूले बताए ।
निकुञ्ज सुरक्षा लिएको बटुकदल गणका गणपति अरुण श्रेष्ठले कुटपिट तथा यातनाको घटना अस्वीकार गरेका छन् । यस विषयमा कहिँकतै उजुरी भने परेको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाको विषयमा छानविन गर्ने आश्वासन पीडित पक्षलाई दिएका छन् ।
यसैबीच सैनिक हेड क्वाटरले साउन ९ गते सो घटनाको छानविन सुरु गरेको जनाएको छ ।