जितपुरसिमरा उमनपा–२ हुलास टोल निवासी नेपाल पत्रकार महासङ्घ बारा शाखाकी सदस्य तथा थाहा खबर र पलखबरका संवाददाता ३५ वर्षीया शारदा पोखरेललाई सोही उमनपा–१ निवासी ४५ वर्षीय श्रेष्ठ विल्डर्सका सञ्चालक लाल श्रेष्ठ, सोही ठाउँका ३९ वर्षीय नेकपाका तर्फबाट वडा अध्यक्षमा प्रत्यासी उम्मेदवार इमरानखान र वडा नं. २ का वडा सदस्य ३६ वार्षीय धनबहादुर श्रेष्ठले असार २८ गते जितपुरसिमरा उमनपाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ निधि शर्माको कार्य कक्षमा गालिगलौज, अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको पीडितको आरोप छ ।
पीडित महिला पत्रकारले जितपुरसिमरा उमनपाको कार्यालयलाई श्रेष्ठ ब्युल्डर्सले समयमा राजश्व रकम नतिरेको विषयमा समाचार लेखेको भन्दै आरोपितहरूले गालिगलौज, कुटपिट प्रयास गर्दै दुर्व्यवहार गरेका कारण कानुनी कारवाही गर्न सहयोग गरिदिनु हुन इन्सेक जिल्ला प्रतिनिधिलाई अनुरोध गर्नु भएको छ ।
आसर २७ गते राजश्व दाखिला नगरेको विषयमा विवरणसहित समाचार प्रकाशन भएकाले आरोपितहरू आक्रोशमा आएर दुर्व्यवहार गरेको पीडित महिला पत्रकारले बताउनु भयो ।
उहाँले असार २८ गते दिउँसो आरोपितहरू तीन जनासँग आफू बसेर समाचारका विषयमा सल्लाह गर्दा दुर्व्यवहार गरेकाले कानुनी कारवाही गर्न सहयोग गरिदिनु हुन इन्सेक बारा प्रतिनिधिलाई फोन मार्फत आग्रह गर्नु भयो ।
इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदिप श्रेष्ठले घटना भएको जिल्ला प्रशासन कार्यालयबाट असार २८ गते सूचना आएकोले प्रहरी परिचालन गर्दा नगरपालिकाको कार्यालयमा छलफल भइरहेको बताउनु हुँदै प्रहरीले निगरानी मात्र गरेको तर घटनाका विषयमा छिट्टै पहल गर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ बारा शाखाले असार २९ गते प्रेस विज्ञप्तिमार्फत महिला पत्रकारलाई दुर्व्यवहार गर्ने आरोपितहरूलाई कारवाही गर्न माग गरेको छ ।