रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा ६ जनाको ज्यान जानेगरी गत जेठ १० गते भएको घटनाको मूख्य कारण जातीय भेदभाव र छुवाछुत भएको संसदीय समितिले निष्कर्ष निकालेको कान्तिपुरमा समाचार छ ।
नेकपा सांसद देवेन्द्र पौडेल नेतृत्वको ९ सदस्यीय चौरजहारी नगरपालिका, सोती घटना छानबिन संसदीय विशेष समिति, २०७७ को प्रतिवेदनमा भनिएको छ-‘रुकुम पश्चिम सोतीमा मिति २०७७ जेठ १० गते घटित यस दुःखपूर्ण घटनाको मुख्य जरिया जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर ४ रानागाउँका वर्ष २१ को नवराज विक र रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी १७ वर्षीया युवतीबीचको प्रेम सम्बन्ध अन्तरजातीय भएकोले केटीका अभिभावक र आफन्तहरूले केटा कथित तल्लो जातको भएकोले अश्वीकार गरेको तसर्थ यो घटना जातीय भेदभाव तथा छुवाछुतको कारणले भएको पाइयो ।’
कोरोना नियन्त्रण र रोकथाम गर्नका लागि जारी लकडाउन कडाइका साथ लागु गरेको भए सोती घटना टर्ने संसदीय विशेष छानबिन समितिले निष्कर्ष निकालेको छ । सुरक्षाकर्मी लकडाउनको कडाइका साथ पालना गराउन चुकेको समितिको प्रतिवेदनमा छ ।
‘जाजरकोट जिल्लाबाट लकडाउनको समयमा १८ जना युवाहरू रुकुम प्रवेश गरेको कुरा सुरक्षाकर्मीलाई थाहा भएन भन्न सकिने अवस्था देखिँदैन । सुरक्षाकर्मीहरूले समयमै लकडाउन सम्बन्धी नियमको पालना कडाइको साथ लागू गर्न सकेको भए यो घटना घट्न नसक्ने देखिन्छ ।’- समितिको निष्कर्ष छ ।
नवराज विकलगायतका युवाहरूलाई केटी पक्षकाले लेखेटेको जानकारी सुरक्षाकर्मीले प्राप्त गरेको तर गम्भीरताका साथ नलिएको पाइएको पनि संसदीय समितिले निष्कर्ष निकालेको छ ।
‘घटना घटित भइरहेको जानकारी सुरक्षाकर्मीले प्राप्त गरेको तर घटनाको प्रकृतिप्रति सुरक्षाकर्मी गम्भीर नभएको देखिन्छ,’ संसदीय समितिको प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ‘रुकुम पश्चिम चौरजहारी इलाका प्रहरी कार्यालयका असई सन्तोष लामिछाने र प्रहरी हवल्दार रमेश बस्नेत मोटरसाइकल लिई आएको अवस्थाबाटै प्रहरीले घटनाको गम्भीरता फेहरिस्त एकिन सूचना जानकारी नपाएको वा नलिएको अवस्था प्रष्ट देखिन्छ । प्रहरीहरू घटनास्थलमा पुगेपछि पनि त्यति चासो लिई घटनाको विस्तृत जानकरी लिएको देखिँदैन ।’
त्यस्तै, आरोपित पक्षका कानुन व्यवसायीका छोरा मृतकको शव पोष्टमार्टम गर्ने व्यक्ति भएकाले पीडित पक्षले पोष्टमार्टम रिपोर्टमा शङ्का व्यक्त गरेको पाइएको संसदीय समितिको निष्कर्ष छ ।
समितिले असार ३० गते सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो । समितिका सदस्यमा दुर्गा पौडेल, रामसहायप्रसाद यादव, इकवाल मियाँ, विमला विक, पार्वती विशुंखे, महेश्वरजङ्ग गहतराज, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली सदस्य हुनुहुन्छ ।
इन्सेकले गत जेठ २६ गते स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै घटनाको अनुसन्धान गरी पीडितलाई न्याय र आरोपितलाई कानुनी कारवाही गर्न माग गरेको थियो ।
स्थलगत प्रतिवेदनमा उल्लेख गरिएका तथ्यहरू
- कथित माथिल्लो जातिकी किशोरी र कथित दलित किशोरबीचको प्रेमसम्बन्ध अन्ततः हत्या जस्तो गम्भीर अपराधका रूपमा परिणत भएको छ ।
- स्थानीयहरूले घरेलु हातहतियारसहित (हँसिया, कुटो र दाउरा) लखटेको र भेरी नदीको किनारमा पुर्याई ती हतियार प्रयोग गरी आक्रमण गरेका थिए ।
- स्थानीयको कुटपिटबाट मृत्यु भएका युवाहरूको शव विभिन्न मितिमा भेरी नदीमा मृत अवस्थामा फेला पर्यो ।
- भेरी नदीमा फेला परेका शवको प्रकृति हेर्दा पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको अवस्थामा थिए ।
- घटनामा दोहोरो भिडन्त वा प्रतिकार भएको थिएन । घटनामा संलग्न कुनै पनि स्थानीयलाई चोटपटक लागेको वा घाइते भएको पाइएन ।
- घटना शुरु भएको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरीले १२ जनालाई उद्धार गरेको थियो । उद्धार गरेका सबै जनाको चौरजहारी मिसन अस्पतालमा उपचार गराई अभिभावको जिम्मा लगाएको पाइयो ।