आलिताल गाउँपालिका–६ झारकाडा र भौना गाउँका स्थानीयबीच असार २७ गते खानेपानीको विषयमा भएको झडपमा परी बालकको ज्यान गएको छ ।
मदिरा सेवन गरेका दुई गाउँका स्थानीयबीच असार २७ गते खानेपानीको पुरानो विवादलाई लिएर भएको झडपमा परी घाइते भएका आलिताल गाउँपालिका–६ भौनाका सात वर्षीय बालक हिमांशु महराको उपचारका क्रममा असार २७ गते राति नै धनगढीस्थित सारथी अस्पतालमा मृत्यु भएको हो ।
पुरानो खानेपानीको विवादलाई लिएर मदिरा सेवन गरी आएका १२ जनाको समूहले घरमा बसिरहेका बालकलाई हिर्काउँदा मृत्यु भएको आलिताल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कर्ण बुढाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
घटनामा सङ्लग्न रहेको आरोपमा पीडित पक्षले १२ जनाको नाममा किटानी जाहिरी दिएकोमा चार जनालाई गिरफ्तार गरिएको र फरार रहेका अन्य आठ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी दधीराम न्यौपाने इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कबाट बताउनु भयो ।
शवको पोष्टमार्टम असार २८ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको डिएसपी न्यौपानेले बताउनु भयो ।