दिनेश एफएममा कार्यरत वरिष्ठ सम्वाददाता २३ वर्षीय कमल साउँदलाई असार २१ गते दुर्व्यवहार तथा हातपात गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–५ हसनपुरका ७० वर्षीय हर्कबहादुर देउवा र उहाँका ३६ वर्षीय छोरा ठक्कर देउवालाई गिरफ्तार गरेको छ ।
पत्रकार साउँदले आफूमाथि हातपात तथा दुर्व्यवहार गरिएको भन्दै सार्वजनिक हित विरुद्धको उजुरी जिल्ला प्रहरीमा दिएपछि आरोपितहरुलाई असार २१ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट आर्थिक वर्ष ०७६/०७७ को बजेट अन्तर्गत माछा पालनका लागि १ लाख ४२ हजार ६ सय ८ रुपियाँ अनुदान लिएर पनि पोखरी निर्माणसम्म नगरेको विषयमा समाचार प्रशारण गरेर आफूहरुको बदनाम गरेको भन्दै बुबाछोराले आफूमाथि दुर्व्यवहार तथा हातपात गरेको पीडित पत्रकार साउँदले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कबाट बताउनु भयो ।
नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समिति, नेपाल पत्रकार महासंघ, कैलाली शाखा र नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला शाखाले असार २१ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनाका आरोपितहरुलाई कडा कार्वाहीको मागसमेत गरेका छन् ।