१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका—४ खुरखुरीयाका १९ वर्षीय नविन साउँद र २० वर्षीय चन्द्र साउँदलाई असार ४ गते गिरफ्तार गरेको छ ।
अस्थायी प्रहरी चौकी, राजीपुरले जेठ १७ गते उजुरी लिन नमानेपछि पीडित बालिकाकी हजुरआमाले असार ३ गते गौरीगंगा नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनु भएको थियो । पीडित पक्षले न्यायिक समितिमा उजुरी दिएपछि जेठ ४ गते पीडित पक्षलाईसँगै लगरे जिल्ला प्रहरी कार्यालयमा गएपछि जेठ ४ गते उजुरी दर्ता भएको गौरीगंगा नगरपालिका न्यायिक समितिका संयोजक अञ्चला चौधरीले टेलिफोनबाट इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
स्थानीय न्यायिक समितिमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी आएपछि आरोपितविरुद्ध उजुरी दर्ता गरिएको र आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक बिष्टले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
जेठ १० गते नविन साउँदले आम खान बोलाएर आफूलाई बलात्कार गरेको र जेठ १२ गते भाइसँगै पसलमा गएको अवस्थामा भाईलाई घर पठाएर चन्द्र साउँदले पनि बलात्कार गरेको ओरोक नेपाल,धनगढीको सेफ हाउसमा रहेकी पीडित बालिकाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।