महादेवा गाउँपालिका–२ का साढे ३ वर्षीय सुजित भनिने सुधिरकुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा आरोपितहरूविरुद्ध असार १ गते दिएको किटानी उजुरी सप्तरी प्रहरीले लिन नमानेको मृतकका २५ वर्षीय बुबा सुर्यनारायण यादवले आरोप लगाउनु भएको छ ।
पीडित पक्षले सोही ठाउँका २५ वर्षीय धिरेन्द्र यादव, २५ वर्षीय प्रविण यादव, ४५ वर्षीय वीरेन्द्र यादव, २६ वर्षीय सन्तोष यादव र २३ वर्षीय सरोज यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा असार १ गते दिएको उजुरी नलिएको सुर्यनारायण यादवको आरोप छ ।
छिमेकी रामा यादवको घरबाट जेठ २१ गते राति साढे सात बजे आफ्नो घर आइरहेका बेला आरोपित सरोजले घर अगाडिको डगर बाटोबाट बालकलाई नियन्त्रणमा लिई घर लगी आरोपितहरूले शरीरको विभिन्न अङ्गमा कुटपिट गरी घाँटी निमोठेर हत्या गरेको जेठ २२ गते पोखरीमा फाली भागेको सुर्यनारायणको आरोप छ ।
जेठ २२ गते दिउँसो घरभन्दा २ सय मिटर पश्चिमतर्फको पोखरीको उत्तरतर्फको डिलमा रुख मुनी बसिरहेका बेला आरोपितहरू दक्षिणतर्फको डिलमा ओहोरदोहोर गरेको देखेपछि शङ्का लागेकाले निगरानी गर्दा आरोपित सन्तोषले काखमा बोकेर ल्याएको मृत बालक पोखरीमा फ्याँकी पूर्वतर्फ हतारमा भागेको मृतककी हजुरआमा सुलेखादेवी यादवले आरोप लगाउनु भयो ।
सो बारेमा सुर्यनारायणसमेत गाउँलेहरू र इलाका प्रहरी कार्यालय हनुमाननगरलाई जानकारी गराई पोखरीको पानीभित्र खोजतलास गर्दा बालक मृत फेला परेको उहाँले बताउनु भयो ।
वैशाख १ गते बाँसको विषयमा झगडा हुँदा आरोपितहरूले ढुङ्गामुढा गरी परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिए बमोजिम योजनापूर्वक हत्या भएको सुर्यनारायणको आरोप छ । आरोपित सरोजले हत्याको आरोप झुठो, बनाबटी र काल्पनिक भएको बताउनु भयो ।
शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जेठ २३ गते गरिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले पोष्टमार्टमको रिपोर्ट नआउञ्जेल एकिनका साथ हत्या वा भवितव्य घटना भन्न नसकिने भएकाले पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा रहेको बताउनु भयो ।