बलात्कार जस्ता घटनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गर्ने सेवा सुविधा नहुँदा अनुसन्धानमा प्रभाव पर्ने भएको छ । बलात्कार घटना अनुन्धानको प्रमुख विषय भनेकै पीडित र पीडकको स्वास्थ्य परीक्षण नै हो । यही विषय जुम्लामा नभएपछि घटना अनुन्धानमा प्रभावित हुने र पीडित न्याय प्राप्तिबाट वञ्चित हुने धेरै सम्भावना रहेको छ ।
कात्तिक १८ गते तिला गाउँपालिका–४ नुवाकोट गाउँको वनमा घाँस काट्न गएका दुई जना महिला बलात्कृत भए । बलात्कार घटनापछि जिल्ला प्रहरी कार्यालय, जुम्लाले पीडितको स्वास्थ्य परीक्षणका लागि कात्तिक २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पत्रचार गर्यो ।
कार्तिक २२ गते नै प्रतिष्ठानले यससम्वन्धी विशेषज्ञ चिकित्सक नभएको र भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनले विषय विशेषज्ञ तालिम प्राप्त चिकित्सकबाट मात्र यस्ता घटनाको स्वास्थ्य परीक्षण गर्न भनेकाले काम हुन नसकेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।
उनले भने–‘यो सुविधा अहिले प्रतिष्ठानमा छैन । निकट भविष्यमै सेवा विस्तार गर्ने तयारीमा छौँ ।’
प्रतिष्ठानमा बलात्कार घटनाको स्वास्थ्य परीक्षण हुन नसकेपछि छिमेकी जिल्ला कालिकोट अस्पतालमा कात्तिक २३ गते स्वास्थ्य परीक्षण गरी पीडित र पीडक दुवै पक्षलाई आज जुम्ला ल्याउने काम भइरहेको छ ।
पीडितले न्याय पाउनु पर्छ भन्ने हिसाबले जुम्लामा नभएपनि कालिकोट जिल्लामा पुर्याएर स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका असई सिताराम रिजालले बताए । बलात्कार घटनाका चारै जना आरोपित फरार रहेका छन् । उनीहरू फरार भएकाले खोजतलास सजिलोका लागि नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
सोही दिन ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पातारासी गाउँपालिका–२ पेरेगाउँका ४५ वर्षीय भैरे सार्कीलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक १८ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १९ गते प्रहरी चौकी डिल्लीचौरमा उजुरी दिएकी थिइन् । प्रहरी चौकी डिल्लीचौरले आरोपितलाई गिरफ्तार गरी कात्तिक २० गते नै जुम्लाको सदरमुकाम खलङ्गास्थित जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो ।
पीडित महिलाको उजुरीका आधारमा आरोपित सार्कीलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वैशाख महिनादेखि जुम्लामा सात ओटा बलात्कार घटना घटेका छन् । यी सबै घटनाको प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ ।