पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि यही मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विक्रम चौधरीको घरमा मङ्सिर १२ गते साँझ बम विष्फोट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले बम विष्फोट भएको पुष्टि गर्नुभएको छ ।
पिपरा गाउँपालिका–४ स्थित चौधरीको घरपछाडि बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट घरको शौचालयको ढोका र पर्खालमा क्षति पुगेको एसपी अधिकारीले बताउनुभयो ।
बम विष्फोट भएको स्थानमै चौधरीले चुनावी प्रचार–प्रसार र व्यवस्थापनका लागि कार्यालय समेत सञ्चालन गर्नुभएको थियो । ठूलो आवाज सहित भएको विष्फोट कुकर बम भएको प्रहरीले अनुमान गरेको छ ।
एसपी अधिकारीले विष्फोट कसले र किन गराएको हो भनेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
चुनावी सुरक्षा व्यवस्था तथा आचार संहिताको अनुगमन गर्न पुगेका सुरक्षा अधिकारीहरू समेतको टोली पुगेको बेला नै ककुर बम विस्फोट भएको थियो ।
उपनिर्वाचनको मौन अवधि सुरू भएपछि सुरक्षा अधिकारी सहितको टोली अनुगमनमा पुगेको थियो ।