२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका १९ वर्षीय जगत बिकलाइ कात्तिक २० गते गिरफ्तार गरेको छ ।
कात्तिक १८ गते जनज्योति युवा क्लबद्वारा आयोजित सांस्कृतिक कार्यक्रमबाट राति घर फर्कने क्रममा बान्ने भन्ने स्थानमा आरोपितले पीडितको मुख थुनी स्थानीय मालिका आधारभुत विद्यालयको कोठामा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडित पक्षले कात्तिक २० गते टेलिफोनमार्फत प्रहरीमा खबर गरेपछि इलाका प्रहरी कार्यालय विनायकको टोलीले आरोपितलाई घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक २० गते जिल्ला अस्पताल अछाममा गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ ।
त्यसैगरी कात्तिक १५ गते घरमा सुतिरहेकी बोल्न नसक्ने ५७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा चौरपाटी गाउँपालिका–६ निवासी १९ वर्षीय बुद्धी आउजी समेत संलग्न भएको आरोपमा कात्तिक २० गते प्रहरीले घरबाटै गिरफ्तार गरेको छ ।
घटनाका अर्का आरोपीत सोही वडाका ३१ वर्षीय नाउटे आउजीलाई कात्तिक १६ गते नै प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ ।
दुवै जनाले मदिरा सेवन गरी ती महिलालाई कुटपिट गरेर बलात्कार गरेको आरोप छ । घटनाको थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।