प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिनाभित्र भूकम्पले क्षति भएका संरचनाहरू निर्माण सम्पन्न गरिसक्न निर्देशन दिएका छन् ।
काठमाडौँको बसन्तपुर दरवार क्षेत्रमा वैशाख १२ गते आयोजित चौथो भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले क्षति पुर्याएका पुरातात्विक केही सम्पदाहरू बाहेक अरू सबै संरचना अबको २० महिनाभित्र सक्नेगरी काम अघि बढाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएका हुन् ।
“केही सम्पदाहरू निर्माण सम्पन्न गर्न अरू समय लाग्न सक्छ, तर धेरै संरचना निर्माण भइरहेकाले अब त्यसलाई सम्पन्न गर्न ढिला गर्नुहुँदैन । अबको २० महिनाभित्र सकिसक्नुपर्छ । जनतालाई राहात दिने गरी काम सम्पन्न गर्ने तर्फ लाग्नुहोस् सरकार तपाईहरूको साथमा छ ।”–प्रधानमन्त्री ओलीले भने ।
ओलीले धरहरा र रानी पोखरीमा पनि पुनःनिर्माणको काम भइरहेको भन्दै त्यसलाई पनि तोकिएको समयावधि भित्रै पुरा गर्नेतर्फ ध्यान दिन पुनःनिर्माण प्राधिकरण र सम्बन्धित मन्त्रालयहरूलाइ सचेत गराए ।
मन्त्री ओलीले भक्तपुर र पाटन दरबार बनिसकेको र सम्पदाहरू बनउँदा पुरातात्विक महत्वलाई नबिगार्ने गरी त्यसलाई अझ बलियो गरी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्राधिकरणका सिइओ सुशील ज्ञवालीले अबको २० महिना भित्र धेरै काम गर्नुपर्ने भएकाले प्राधिकरणले आफ्नो गति थप बढाउने बताए ।
उनले पुनःनिर्माण कार्यमा सबैको साथ आवश्यक रहेकोले सम्बन्धित सबैलाई यसमा सहयोग गर्न आग्रह समेत गरे ।
ज्ञवालीले निजी आवास निर्माण तर्फ ८० प्रतिशत र सार्वजनिक भवन निर्माणमा ३० प्रतिशत कार्य प्रगति भएको जानकारी दिए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माण कार्यलाई गति दिन आफूपनि तयार रहेको र यसमा सम्बन्धित पक्ष सबैले विशेष चासो दिएर लाग्न आग्रह गरे ।
