INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिका माथि जातीय विभेद गरेको भन्दै प्रधानाध्यापक विरूद्ध उजुरी

मल्लरानी गाँउपालिका –५ स्थित भुमि विकास आधारभुत विद्यालयका बालबालिका माथि जातीय विभेद गरेको भन्दै दलित सङ्घर्ष समितिले सोही  विद्यालयका प्रधानाध्यापक ४८ वर्षीया यशोधा श्रेष्ठविरूद्ध चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

दलित भएकै आधारमा अपमान गरेको र जातीय विभेद गरेको भन्दै जिल्लामा गठित दलित सङ्घर्ष समितिले उजुरी दर्ता गरेको नेपाल उत्पीडित जातीय मुक्ति समाजका जिल्ला अध्यक्ष खुमबहादुर परियारले बताए ।

आरोपित श्रेष्ठले गत फागुन २८ गते आफ्नो बुबाको १३ औँ दिनको पितृभोजका लागि सालको पात टिप्न नआउनु तिमीहरूले छोएको चल्दैन भनी विभेद गरेको आरोपसहितको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथोकीले बताए ।

आरोपित श्रेष्ठले आफूले कुनैपनि विभेद नगरेको बताइन् । उनले यही ठाँउमा दलितको घरमा डेरा गरेर एक वर्ष बसेको बताउदै आफूमाथि झुठा आरोप लगाइएको बताइन् ।

श्रेष्ठले माइती तीर सालको पात नपाइने भएकाले शिक्षकलाई भनेर एक जना बालिकामार्फत मगाएको बताइन् ।

आरोपित प्रधानाध्यापकलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

अन्य

भिडियो