शान्तिनगर गाउँपालिका वडा नं. ३ र ४ मा पाँच दिनदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआएको शान्तिनगर स्वास्थ्य चौकीले जनाएको छ । चौकीका इञ्चार्ज हरि पुनका अनुसार ५० जनाभन्दा बढी बालबालिकासहित जेठ १४ गतेसम्म १ हजार ३ सय ७५ जना बिरामीको उपचार गरिएको छ ।

धेरैजसो घर फर्किसकेको भएपनि करिब १ सयको हाराहारीमा अझै उपचारको क्रममा रहेको स्वास्थ्य चौकीले जनाएको छ । केहीको स्वास्थ्य चौकीमै, केहीको राप्ती अञ्चल अस्पताल र एक जनाको नेपालगञ्जमा उपचार गरिएको पुनले बताए ।
माइलीपानी खानेपानी मुहानको ट्याङकीमा १५ दिनअघि भल पानी पसेकाले दुषित पानीका कारण पखाला फैलिएको अनुमान गरिएको छ ।

उक्त खानेपानी ट्याङकीको सरसफाई गरिएको छ भने अहिले तुलसीपुरबाट ट्याङकरमा पानी बोकेर स्थानीयलाई वितरण गर्ने काम भइरहेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए ।
नयाँ बिरामी आउनेक्रम नरोकिएको र उपचारका लागि औषधि पर्याप्त राखिएको स्वास्थ्य चौकीले जनाएको छ ।
झाडापखाला फैलिएपछि विद्यालय बन्द
शान्तिनगर गाउँपालिका वडा नं. ३ र ४ मा पाँचदिनदेखि झाडापखालाको प्रकोप फैलिएपछि स्थानीय दुईवटा विद्यालय बन्द गरिएको छ ।

जेठ १० गतेदेखि फैलिएको झाडापखालाले गाउँका धेरै मानिस बिरामी परेपछि सङ्क्रमणको डरले दुई दिनकालागि विद्यालय बन्द गरिएको शान्तिनगर गाउँपालिका शिक्षा शाखाका अधिकृत घनश्याम वलीले जानकारी दिए ।
वलीका अनुसार वडा नं. ३ पातेटाकुरामा पर्ने विपी मावि बयाले सिमतारा र स्थानीय उमाचन्द्र इङलिस बोर्डिङ स्कुल जेठ १३ र १४ गते बन्द गरिएको हो । दुवै विद्यालयमा गरी करिब १ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।