पिशाच लागेको उपचार गर्ने भन्दै कमलामाई नगरपालिका–१२ रानीचुरीकी ३७ वर्षीया पुर्णमाया गुर्मछान मगरलाई धामीले तातो पन्युले डामेर घाइते बनाएका छन् ।
नियमित झारफुक गर्ने धामी दुर्गाबहादुर मगरले तातो पन्युले डाम्दा पुर्णमायाको अनुहार पुर्ण रूपले डढेको छ भने जीउमा समेत चोट लागेको छ ।
सामान्य काम्ने तथा अनावश्यक बोल्ने जस्तो रोग देखिएकाले तीनपाटन गाउँपालिका–३ का धामी दुर्गाबहादुर आले मगरको घरमा झारफुक गर्न जाँदा धामीले उनलाई डामेका थिए । धामीले कालो बोको, रातो भाले पुजा गरेर खानुका साथै पीडितलाई डामेका थिए ।
कात्तिक १५ गते भएको घटनाबाट घाइतेको उपचारमा समेत परिवारले ध्यान नदिएको र पीडितका बुबाले थाहा पाएर उनलाई कात्तिक २० गते सिन्धुली अस्पतालमा उपचारका लागि ल्याएका छन् । डामेर घाइते भएकी उनलाई माइती पक्षका बाबुले भेट्न आएका बेलामा घटनाका बारेमा थाहा पाएका थिए ।
कात्तिक १५ गते भएको घटनाको ढाकछोप गर्दै राखेको र उनका बाबुले कात्तिक २० गते अस्पताल ल्याएपछि घटना बाहिर आएको हो । उनका बाबु चन्द्र खुलालका अनुसार छरछिमेकीको समेत मिलेमतोमा धामीले आफ्नी छोरीलाई तातो पन्युले डामेका हुन् ।
कात्तिक २० गते नै कथित बोक्सीको आरोपमा आफ्नी छोरीमाथि अमानवीय व्यवहार भएको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर शोभा पाण्डेका अनुसार उजुरी दर्ता भएपनि धामी फरार भएको बताइन् । आरोपितलाई गिरफ्तार गर्न मातहत प्रहरीलाई आदेश दिइसकिएको पनि उनले बताइन् ।