INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्ति सुरक्षा भरपर्दो बनाउन सरकार कमजोरः अध्यक्ष प्याकुरेल

सरकारले निर्वाचन केन्द्रीत शान्ति सुरक्षा व्यवस्था भरपर्दो गर्न नसकेको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आरोप लगाएका छन् ।

Photo20171201Udaypur

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले गाईघाटमा मङ्सिर १५ गते आयोजना गरेको मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले शान्ति सुरक्षा व्यवस्थित गर्न सरकार चुकेको आरोप लगाएका हुन् ।

निर्वाचनको मुखमा सिडियो/प्रहरी अधिकारीको सरूवा, बढुवा गरेर सरकारले निर्वाचन आफू अनुकूल बनाउन खोजेको आरोप लगाउँदै उनले कर्मचारी सरूवा बढुवा, चुनावको मुखमा पैसा बाँड्ने र एक वर्षअघिका बाढीपहिरो प्रभावितका नाममा राहात दिने जस्ता प्याकेजलाई तत्काल बन्द गरी आचारसंहिता पूर्ण पालना गर्न आग्रह गरे ।

Photo20171201Udaypur1

दल र तिनका उम्मेदवारप्रति लक्षित गर्दै अध्यक्ष प्याकुरेलले निर्वाचनमा सहभागी दलका नेतालाई घोषणा पत्रमा उल्लेख भएका बुँदा र प्रतिबद्धतालाई इमान्दारसाथ व्यवहारमा उतार्न आग्रह गरे । ‘हचुवाको तालमा बोल्ने अनि जितेर गएपछि फर्केर नआउने ?’-उनले भने-‘यस्तो प्रवृत्तिको अन्त्य गर्नुस । जे पुरा गर्न सकिन्छ त्यति मात्र बोल्नुस ।’

नेताको बोली र व्यवहार फरक हुँदा जनताप्रति विश्वास घटदै गएको भन्दै अध्यक्ष प्याकुरेलले सस्तो लोकप्रियता नदेखाउन आग्रह गरे । उनले नेताका बोली र प्रतिबद्धतालाई कसरी पुरा गर्छौ ? भन्ने बानीको विकास गर्न मतदातालाई पनि आग्रह गरे । निर्वाचन पछि आम मतदातालाई नेताले बोलेका कुराको काम भए नभएका विषयमा सचेतना फैलाउन आवश्यक रहेको उनको भनाई छ ।

Photo20171201Udaypur2

कार्यक्रममा बोल्दै मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले निर्वाचनमा हुने खर्चलाई पारदर्शी बनाउन आग्रह गरे । ‘निर्वाचनमा हुने अस्वभाविक खर्चको हिसाव खोज्ने समय आएको छ ।’-उनले भने-‘निर्वाचनको माहोल आफूप्रति बनाउन दलहरू खर्चको सिमारेखा नघाउन खोन्दैछन् । त्यसको हिसाब सोध्नुस् ।’

अन्य

भिडियो