INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

पातारासी गाउँपालिका–४ का ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

नेपालीको महान चाड पर्व दसैँ र तिहारमा सामाजिक सुरक्षा भत्ता बुझेर मिठो मसिनो खाना खाने सपना थियो तर वडा कार्यालयले नदिएपछि समस्या भएको सोही वडाका ६५ वर्षीय ज्येष्ठ नागरिक हंशबहादुर रोकायाले गुनासो गरे ।

उनले भने–‘सामाजिक सुरक्षा भत्ता चौमासिक रूपमा वितरण गर्ने गरेका थिए । तर त्यही पनि अहिलेसम्म पाएका छैनौँ ।’

यस वडाका करिब १ सय जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको ६३ वर्षीया माग्ली सार्कीले बताइन् । उनले भनिन्–‘चाडपर्वमा पैसाको आवश्यक हुन्थ्यो । दसैँ तिहारमा पाइन्छ की भनेर आशा गरेका थियौँ । तर, पाइएन ।’

हिमाली जिल्लामा ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्रति महिना १ हजार रुपियाँ र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई १ हजार रुपियाँ उपचार खर्चसहित प्रति महिना २ हजार रुपियाँ उपलब्ध गराउने व्यवस्था गरेको छ ।

पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार बैङ्किङ कारोवारमा समस्या आएकाले ज्येष्ठ नागरिकलाई दसैँ अगावै सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको हो । बैङ्कको समस्या सुल्झाएर तिहार अगावै घरदैलो कार्यक्रम गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उनले प्रतिवद्धता जनाए ।

अन्य

भिडियो