मानव अधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ५३ वर्षीय युक्तिलाल मरिक (डोम) लाई वैद्य-प्रकाश मानव अधिकार पुरस्कार-२०७४ बाट सम्मानित गर्ने निर्णय भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज नपा-७ का वैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरेको वैद्य-प्रकाश मानव अधिकार पुरस्कार कोषको साउन १५ गतेको बैठकले डोमलाई सम्मानित गर्ने निर्णय भएको हो । यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार तथा नागारिक आन्दोलनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको कोषले जनाएको छ ।
२५ औं प्रकाश स्मृति दिवसका अवसरमा साउन १६ गते राजविराजस्थित नेपाल रेडक्रस सोसाइटीको सभाकक्षमा एक समारोहको आयोजना गरी डोमलाई सम्मानित गरिने कोषका अध्यक्ष वैद्यनाथ झाले बताए । डोमलार्इ पुरस्कारस्वरुप ३ हजार १ सय ५ रुपियाँ, सम्मान-पत्र तथा दोसल्ला प्रदान गरिने छ ।
दुई दशकदेखि गरिब, असहाय, दलित, महिला, अल्पसङ्ख्यक र भूमिहिनहरूको उत्पिडनविरुद्ध कटिबद्ध भई सामाजिक कार्यमा सक्रिय युक्तिलाल मरिक दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातिको आन्दोलनको अभिन्न अङ्गका रूपमा स्थापित छन् ।
डोम उत्थान समाजका राष्ट्रिय अध्यक्ष समेत रहेका डोमले स्नातक तहसम्मको अध्ययन गरेका छन् । २०५६ सालदेखि डोम जातिको भूमि तथा कृषि अधिकार, दलित सशक्तिकरण र सिनो बहिष्कार आन्दोलन, जातीय छुवाछुत र घर उठीबास विरुद्धको अभियानका साथै सप्तरी, सिरहा र सुनसरीका विभिन्न मन्दिर र होटलहरूमा डोम समुदायको प्रवेश खुल्ला गराउन उनी निरन्तर क्रियाशील छन् ।