संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको दुई दिने मधेश बन्दका कारण फागुन २४ गते पूर्वाञ्चलका केही जिल्लाको जनजीवन प्रभावित भएको छ । सप्तरीको राजविराजस्थित गजेन्दनारायण सिंह औद्योगिक क्षेत्रमा एमालेले फागुन २३ गते आयोजना गरेको मेची-महाकाली राष्ट्रिय अभियान बिथोल्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच भएको भिडन्तमा तीन जनाको मृत्युपछि मोर्चाले दुई दिन बन्द आह्वान गरेको हो ।
सप्तरी जिल्ला प्रतिनिधि मनोहर पोखरेलकाअनुसार मोर्चाका कार्यकर्ताहरूले फागुन २४ गते बिहानैदेखि राजविराज, रुपनी, कञ्चनरुप, भारदह, हनुमाननगरलगायत जिल्लाका बिभिन्न ठाउँमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । बन्दका कारण जिल्लाका बजार, कलकारखाना, शिक्षण संस्था र यातायातका साधन ठप्प रहेका छन् । मोर्चाका कार्यकर्ताहरूले राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा घेराउ गरि प्रदर्शन गरिरहेका छन् । राजविराजलगायत प्रमुख स्थानहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेता पनि अघिल्लो दिनको घटनाका कारण स्थानीय त्रसित अवस्थामा रहेका छन् ।
यसैबीच, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय, जनकपुरबाट स्थलगत अनुगमनका लागि राजविराज पुगेको आयोगको बा ७ च ७४७३ नम्वरको जीपसमेत मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । मलेठको घटनास्थल हेरेर फर्किएको आयोगको जनकपुर क्षेत्रीय कार्यालयको गाडी जिल्ला अदालतभित्र प्रवेश गरिरहेका बेला मोर्चाका कार्यकर्ताहरूले तोडफोड गरेको आयोगकी मानव अधिकार अधिकृत रेवा रेग्मीले जानकारी दिइन् । तोडफोडका क्रममा काडमाडौँ मनपा-८ मुलपानी घर भएका चालक ४५ वर्षीय श्रीराम कार्की सामान्य घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना र एसपी दिवेश लोहनीलाई फागुन २४ गते प्रधानमन्त्री कार्यालयले काठमाडौँ झिकाएको छ ।

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारकाअनुसार सिरहाको सदरमुकाम सिरहा लगायत लहान, गोलबजार, मिर्चैया, सुखिपुर लगायतका प्रमुख ठाउँमा यातायात, शिक्षण संस्था, बजार र कलकारखाना ठप्प रहेका छन् । सरकारी कार्यालयहरु समेत सुचारू हुन सकेका छैनन् । यसैबीच मोर्चाका कार्यकर्ताहरूले बन्दको अघिल्लो दिन फागुन २३ गते लहान नपा-३ स्थित राजमार्गमा ना ४ ख २०७६ नम्वरको र गोलबजारमा BRT 51A4013 भारतीय नम्वर प्लेटको मालबाहक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
सुनसरी जिल्ला प्रतिनिधि शेखर ढकालकाअनुसार सुनसरी जिल्लाको दुहवी, इनरुवा र लौकहीलगायतका ठाउँमा बन्दको प्रभाव देखिएको छ । इटहरी र धरान उपमहानगरपालिकामा भने बन्दको कुनै असर परेको छैन ।
मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईकाअनुसार विराटनगर, कर्सिया, रङ्गेली, रानीलगायतका ठाउँमा बन्दका कारण बजार तथा पसल खुलेका छैनन् भने यातायातका साधन पनि चलेका छैनन् । बिहान सुचारु रहेका शिक्षण संस्थासमेत मोर्चाका कार्यकर्ताहरूले बन्द गराउँदै हिँडेपछि पठनपाठन अवरुद्ध भएको छ ।

रौतहट जिल्ला प्रतिनिधि बिपिन गौतमका अनुसार मोर्चाको बन्दका कारण जिल्ला सदरमुकाम गौरमा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधनहरू चल्न सकेका छैनन् भने सदरमुकामका निजी तथा सरकारी विद्यालयहरू पूर्ण रूपमा बन्द भएका छन् ।
यातायातका साधन नचलेका कारण जिल्ला सदरमुकाम स्थित सरकारी कार्यालयहरूमा सेवाग्राहीहरू जान नसकेका कारण सरकारी कार्यालयहरू सुनसान देखिएका छन् । सदरमुकाम जाने यातायातका साधनहरु नचलेपनि पूर्व पश्चिम राजमार्गमा भने यातायातका साधनहरू, पसल तथा व्यवसाय र विद्यालयहरू निर्वाध रूपमा सञ्चालन भएका छन् । मोर्चाका कार्यकर्ताहरूले सदरमुकाम गौरसँगै जिल्लाका प्रमुख बजारहरू गरुडा, कटहरीया, मत्सरीलगायतका स्थानमा बिहानैदेखि टायर बालेर प्रदर्शन गरेपनि कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका अनुसार बीरगञ्जमा मोर्चाका कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । मुख्य बजार घण्टाघर, आदर्शनगर, छपकैया, मूर्लीलगायतका स्थानमा मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका हुन् । रामगढवा, पावरहाउसचोक र नयाँ बसपार्क क्षेत्रमा पनि प्रदर्शन भएको छ । मुख्य बजारका कुनै पनि पसल खुलेका छैनन् । शिक्षण संस्था पनि ठप्प छन् । सवारी आवागमन बन्द भएको छ भने उद्योग कलकारखाना पनि प्रभावित भएका छन् ।
नगर क्षेत्रमा जनपथ र सशस्त्र प्रहरीको परिचालन बाक्लो पारिएको छ । प्रदर्शनका क्रममा सम्भावित असुरक्षालाई ध्यानमा राखी ठाउँठाउँमा सुरक्षा सतर्कता बढाइएको पर्सा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रदर्शनका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
सर्लाही जिल्ला प्रतिनिधि सन्तोषकुमार सिंहका अनुसार मधेश बन्दका कारण सर्लाहीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण मलङ्गवाबाट छुटने छोटो तथा लामो दुरीका यतायातका साधन सञ्चालन हुन सकेका छैनन् । राजमार्ग क्षेत्रका केही विद्यालयहरू सञ्चालनमा आएपनि राजमार्ग भन्दा दक्षिणका विद्यालयहरू बन्द भएका छन् ।
महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार मधेश बन्दका कारण जलेश्वरको प्रमुख चोकहरूमा मोर्चाका कार्यकर्ताहरूले टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । बन्दको कारण जलेश्वरबाट पूर्व पश्चिमका लागि सञ्चालन हुने छोटो तथा लामो दुरीका कुनै पनि र्सार्वजनिक सवारी साधनहरू सञ्चालन गरिएको छैन । बजार, विद्यालय, कलेज, कलकारखानाहरू बन्द गरिएको छ ।

बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बन्दका कारण गुलरिया बजार पूर्ण रूपमा बन्द रहेको छ भने शैक्षिक संस्था सञ्चालनमा आएका छैनन् ।

बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार मोर्चाको बन्दका कारण यातायातका साधन चलेका छैनन् भने बजार छिटपुट रूपमा चलेका छन् । बन्दका कारण शैक्षिक संस्था सञ्चालनमा आएनन् । मोर्चाका कार्यकर्ताहरू व्यानरसहित नेपालगञ्जको धम्बोझी चोक, गुलरिया सडक खण्डको सोनपुर र त्रिभुवन चोकमा जम्मा भएका छन् । संविधान संशोधन विना कुनै तहको निर्वाचन हुन दिँदैनौँ भन्दै मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् ।

दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार मधेसी मोर्चाको बन्दको प्रभाव दाङमा भने परेको छैन ।