वरिष्ठतालाई मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा प्रा. डा. केशवप्रसाद सिंहलाई नियुक्त गरिएको भन्दै प्रा. डा. गोविन्द केसीले कात्तिक २८ गतेदेखि दसौँ अनशन सुरु गरेका छन् । यस अघि डा. केसी नाै पटक अनशन बसिसकेका छन् ।
कात्तिक २७ गते विज्ञप्ति जारी गर्दै कात्तिक २८ गते २ बजेसम्म डिन नियुक्त गर्नुपर्ने अल्टिमेटम दिएका डा. केसीले शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी कात्तिक २८ गतेबाटै अनशन सुरु गरेका हुन् ।
डा. केसीको माग अनुसार समयमा नै डिन नियुक्त गरिए पनि वरिष्ठताक्रम मिचिएको भन्दै उनले विरोध गरेका हुन् ।
डिन सर्च कमिटीले प्रा. डा. जगदीशप्रसाद अग्रवाल, प्रा. डा. सिंह र प्रा. डा. ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो ।
डा. केसीले चिकित्सा शिक्षा ऐन नआउँदै विस्तारित कार्यक्रम वा अन्य कुनै बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, संसद्बाट चिकित्सा शिक्षा ऐन पारित गर्दा सुझाएका संशोधन समेटेर तथा माथेमा प्रतिवेदन र विगतका सम्झौता अनुकूल हुनेगरी पारित गर्नुपर्ने लगायतका माग दोर्याएका छन् ।