शुक्लागण्डकी नगरपालिका–८ का वडा अध्यक्ष कृष्ण रेग्मीमाथि कुटपिट भएको छ । वडा अध्यक्ष रेग्मीमाथि कात्तिक १६ गते राति १० बजे अज्ञात पक्षबाट कुटपिट भएको हो ।
कुटपिटबाट घाइते वडा अध्यक्ष रेग्मीलाई कात्तिक १६ गते राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल पुर्याइएको छ ।
उनलाई थप उपचारका लागि राति नै पोखरा पठाइएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर श्रवणकुमार बिकले जानकारी दिए ।
फिस्टेल अस्पताल पोखरामा उनको उपचार भइरहेको छ । उनको आँखामा गहिरो चोट लागेको छ ।
प्राकृतिक श्रोतको अवैध उत्खनन् भइरहेको सूचना पाएपछि त्यसको बारेमा जानकारी लिन जाँदा आफूमाथि एक्कासी आक्रमण भएको वडा अध्यक्ष रेग्मीले बताए । आक्रमण गर्ने समूहलाई आफूले पहिचान गर्न नसकेको उनले बताए ।
इन्स्पेक्टर बिकले रेग्मीमाथि कुटपिट गरेको आशङ्कामा चार जनालाई गिरफ्तार गरिएको बताए । तर उनीहरू विरूद्धमा कुनै उजुरी नपरेको हुँदा मुद्दा चलाउने प्रक्रिया सुरू नभएको उनले बताए । कुटपिटको कारणबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।