म्याग्दे गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यलाई विशेष प्राथमिकतामा राखी योजना तथा कार्यक्रम निर्माण गरेको छ । गाउँपालिकाको सम्पुर्ण विद्यालयमा दरबन्दी अनुसारको शिक्षकको व्यवस्था, विद्यालयलाई जङ्कफुड मुक्त बनाउने अभियानलाई प्राथमिकता दिएको छ ।

यसका साथै विद्यार्थी नियमित उपस्थितिको अभियान, आलु खेतीमा आत्मनिर्भर बनाउने अभियान, सुन्तलाको पकेट क्षेत्र निर्धारण तथा २५ शैयाको अस्पतालको चाँडै निर्माण गर्ने घोषणालगायतका कार्यहरू गाउँपालिकाको योजनामा समेटिएको गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् ।
इन्सेकद्वारा सञ्चालित शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठन गरिएको मानव अधिकार निगरानी समूहको बैठकमा कात्तिक १५ गते अध्यक्ष रानाले गाउँपालिकाले योजना र कार्यक्रम तयार गर्दा शिक्षा, स्वास्थ्य र खाद्यका विषयलाई प्राथमिकतामा राखेको बताइन् ।
गाउँपालिकाको प्राथमिकता सडक र कृषि भएको हुँदा त्यससँग शिक्षा, स्वास्थ्य र खाद्यलाई पनि जोडेर लगिएको अध्यक्ष रानाको भनाई छ ।
गाउँपालिकाका ३१ ओटा सामुदायिक विद्यालय मध्ये २१ ओटा विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको र बाँकी रहेका १० ओटा माध्यमिक तहका विद्यालयमा समेत यसै वर्षदेखि खाजाको व्यवस्था गरिने म्याग्दे गाउँपालिकाले जनाएको छ ।
बैठकमा आफ्ना भनाई राख्दै गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकाको सेवालाई प्रभावकारी बनाउन नियमित अनुगमन पनि भइरहेको बताए । उनले गाउँपालिका भित्र अस्पताल बनाउन पहल भइरहेको बताए ।

साथै गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने गत वर्षदेखि सञ्चालन गरिएको अभियान अन्तर्गत यस वर्ष पनि २२ टन आलुको बिउ ल्याइ वितरण गरिने योजना बनाइएको घिमिरेले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले गाउँपालिकाले राम्रो काम गरेको भए पनि आवश्यक प्रचारप्रसार हुन नसकेको बताए । इन्सेकसँग सहकार्य गरी शिक्षा, स्वास्थ्य र खाद्यको कार्यक्रमलाई प्रभावकारी बनाउन तयार रहेको उनको भनाइ थियो ।
बैठकमा इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराकी कार्यक्रम संयोजक सवनम शर्माले शिक्षा, स्वास्थ्य र खाद्यलाई संविधानमा नागरिकको मौलिक हकको रूपमा समावेश गरिएको हुँदा ती मौलिक हकको बारेमा सचेतना दिन र सेवा प्रदायकलाई जिम्मेबार बनाउन इएलपी कार्यक्रम सञ्चालन गरिएको बताइन् ।