नेपाल राजविराज नपा–१ का वाइसिएल सहसंयोजक राजविराज नपा–१ का २१ वर्षीय प्रेमकुमार यादवको हत्या आरोपमा सप्तरी प्रहरीले राजविराज नपा–११ का २२ वर्षीय मिथलेशकुमार यादव र २० वर्षीय सरोजकुमार यादवलाई गिरफ्तार गरी कात्तिक ९ गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेको छ ।
मृतकका बुवा भन्नालाल यादवको उजुरीका आधारमा आरोपितमध्ये दुई युवालाई गिरफ्तार गरी कारवाही चलाइएको र अन्य १० आरोपितहरुको खोजतलाश भइरहेको एसपी राजेन्द्र विष्टले बताए । राजविराज नपा–२ स्थित पिस जोन बोर्डिङ्ग स्कुल अगाडि बाटोमा असोज २३ गते विहान नौ बजे यादवलाई घेरा हाली आरोपितहरुले धारिलो हतियारले प्रहार गरी हत्या गरेको पीडितका बुवा भन्नालाल यादवले बताए ।
असोज २३ गते विहान नौ बजे राजविराज नपा–११ का जयप्रकाश यादव, आनन्दकुमार यादव, नागेश्वर यादव, राजाराम यादव, ओमप्रकाश यादव, संजय यादव, धर्मेन्द्र यादव, गुन्जेश सिंह, मिथलेश यादव र सरोज यादवलगायतकाले गरेको आक्रमणबाट असोज २४ गते राति प्रेमको मृत्यु भएको भन्दै स्थानीयवासीले असोज २५ गते र कात्तिक ४ गते राजविराजमा प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।
उपचारका क्रममा बिराटनगरस्थित न्युरो अस्पतालमा प्रेमको मृत्यु भएपछि लाशको कोशी अञ्चल अस्पताल विराटनगरमा असोज २५ गते पोष्टमार्टम भयो ।
पुरानो रिसइवीका कारण भएको झडपमा यादवको हत्या भएको भन्दै एसपी विष्टले अन्य आरोपितहरुलाई समेत चाँडै गिरफ्तार गरिने बताए ।