राजविराज नपा–६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले सोही ठाउँकी ४० वर्षीया मुन्नी साह, ३० वर्षीया चनरदेवी मेहतर, ३२ वर्षीय शङ्कर राउत र ३० वर्षीय सुरज मेहतरलाई गिरफ्तार गरी कात्तिक ११ गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी देवको टाउकोमा इँटाले प्रहार गरी हत्या गरेको अवस्थामा रक्ताम्य लाश कात्तिक २ गते बिहान उनकै ओछ्यानमा फेला परेको थियो ।
मृतकको टाउकोमा ६ इञ्च लम्बाई र चार इञ्च चौडाई गहिरो खत रहेको अवस्थामा फेला परेको लाशको पोष्टमार्टम कात्तिक ३ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।
बलात्कारपछि हत्या भएको आंशकामा फोरेन्सिक परिक्षणका लागि शवको पोष्टमार्टम राजविराजमा नगरी धरानस्थित प्रतिष्ठानमा लगी पोष्टमार्टम गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
रगत लागेको इँटा बरामद गर्दै प्रहरीले मृतकको मोबाइल फोनको कल डिटेल्स र आवश्यक अनुसन्धान गरेपछि आरोपितहरूलाई गिरफ्तार गरी उजुरी दर्ता गरेको र थप अनुसन्धान भइरहेको एसपी राजेन्द्र विष्टले बताए ।