जिल्ला अस्पतालको फार्मेसी र स्टोरमा डेढ महिनादेखि अत्यावश्यक औषधि नहुँदा बिरामी निजी मेडिकलबाट महङ्गोमा खरिद गरेर उपचार गर्न बाध्य भएका छन् ।
जिल्ला अस्पतालका स्टोर किपर सुनिल शाहका अनुसार अस्पतालमा ब्रोफिन, सिटामोट, डाइजिन, मेट्रोमिडाजल, बुस्कोपान, जिवनजल, आर–एल, एन–एसलगायतका सलाइन र अत्यावश्यक औषधि ४५ दिनदेखि नभएको बताए ।
सरकारले बिरामीलाई निशुल्क दिने भनिएका सामान्य किसिमका औषधिसमेत अस्पतालमा पाउन छाडेका छन् ।
स्वास्थ्य विमा गरेका स्थानीय बिरामी पनि औषधि नपाएर समस्यामा परेका छन् । स्वास्थ्य विमा गरेकाले सरकारी अस्पतालमा उपचार गरेको ५० हजार रुपियाँसम्मको औषधि निशुल्क पाउने व्यवस्था छ । फार्मेसीमा निजी मेडिकलको भन्दा सहुलियत दरमा औषधि विक्री गर्ने गरिएको छ भने स्वास्थ्य विमा गरेकालाई ५० हजार रुपियाँसम्म निशुल्क औषधि दिने व्यवस्था गरिएको छ ।
अस्पतालमा निशुल्क दिने औषधिको अभाव भने कायमै छ । १५ शैयाको जिल्ला अस्पताललाई ५० शैयाको जाजरकोट अस्पतालमा स्तरोन्नती गरिएपछि निशुल्क वितरण गरिने औषधि सरकारले पठाउन छाडेको छ ।
५० शैयाको अस्पताल स्थानीय तह मातहत रहने की प्रदेश सरकार वा सङ्घीय सरकार मातहत रहने स्पष्ट नहुँदा कुनैपनि सरकारले औषधि तथा जनशक्ति आपूर्ति र पूर्वाधार विकासमा चासो नदिँदा अस्पताल अस्तव्यस्त भएको छ ।
‘न निशुल्क औषधि पाइन्छ न विशेषज्ञ जनशक्ति छ, न पर्याप्त पूर्वाधार नै । अस्पतालले बिरामीको विश्वास जित्न सकेको छैन ।’–नेपाल पत्रकार महासङ्घका अध्यक्ष भिमबहादुर सिंहले बताए ।