जिल्ला कारागार नुवाकोटका कैदीबन्दीहरूले कारागारलाई नै आम्दानीको केन्द्रको रूपमा रूपान्तरण गरेका छन् ।
सीप भएकाहरूले जहाँ गए पनि खाली बस्नु पर्दैन भन्ने भनाइलाई चरितार्थ गर्दै यहाँका कैदी बन्दीहरूले आफ्नो सीपलाई उपयोग गरी आम्दानी गरिरहेका छन् ।

विदुर नपा–१ ढुङ्गेमा रहेको जिल्ला कारागारमा रहेका १ सय ६१ कैदीबन्दीहरूमध्ये ५० जना कैदीबन्दीले उद्यमशील काम गर्दै आम्दानी गरिरहेका छन् ।
कैदीहरूले विशेष गरी बाँसको मुढा निर्माण र ढाकाको कपडा सिलाउने काम गरी कमाइरहेको जिल्ला कारागारका प्रमुख टङ्क चिमोरियाले बताए ।
‘जाँगरिलाहरूले काम गरेर कमाई गरिरहेका छन् । घर परिवारलाई आर्थिक रूपमा सघाइरहेका छन् ।’–प्रमुख चिमोरियाले भने–‘कैदीबन्दीले मुढा निर्माणबाट आम्दानी गरिरहेका छन् ।’
कैदीबन्दीहरूले स्वरोजगारबाट आम्दानी गरेका हुन् । मुढा निर्माणको लागि रूची भएमा नजानेकालाई जानेकाले यहीँ सिकाउने समेत गरेका छन् ।
अहिले पनि ४ सय मुढाको अर्डर आएकाले धमाधम काम भइरहेको कारागारका अन्तरिक प्रशासन प्रमुख नाइके लुमडी कार्कीले बताए ।
कारागारबाट व्यापारीहरूले प्रति मुढा ४ सयदेखि ५ सय रुपियाँसम्ममा खरिद गर्ने गरेका छन् । कारागारमा बनाइएका मुढा बलियो र सस्तो पनि हुने भएकाले व्यापारीहरूले लैजाने गरेको नाइके कार्कीले बताए ।
कारागारमा मुढाको साथै ढाका कपडाको विभिन्न डिजाइनका उत्पादनलगायत हस्तकलाका सामग्रीहरूको पनि उत्पादन गर्ने गरिएको छ ।
कारागारमै स्वरोजगार भएर आम्दानी गर्दा कैदीबन्दीमा भएको हीनताबोध हटेर जान सहयोग पुग्ने भएकाले कारागारलाई कारखानाको रूपमा विकसित गरी काममा व्यस्त राखिएको जिल्ला कारागारका प्रमुख चिमोरियाको भनाई छ ।
चिमोरियाका अनुसार विभिन्न कारणले कारागारमा परेकाहरूलाई स्वरोजगारले भोलि समाजमा घुलमिल हुन पनि सहयोग पुग्नेछ ।