जिल्लाका विभिन्न स्थानीय तहका २९ वडा कार्यालय सचिव विहीन भएका छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा ताकेता गर्दापनि सचिवको व्यवस्था नहुँदा वडा कार्यालय सचिव विहीन भएका हुन् ।
आठ वटा वडा रहेको सिमकोट गाउँपालिकामा एक जना मात्र सचिव र अरु सबैमा सचिव नरहेको वडा नम्बर ४, ५ र ६ नम्बर वडाको जिम्मेवारी लिएका वडा सचिव धर्मराज रोकायाले जानकारी दिए । जिल्लामा सात वटा गाउँपालिकाका ४४ वडा कार्यालय रहेका छन् ।
मन्त्रालयबाट सचिवको व्यवस्था नहुँदा काम गर्न निक्कै कठिन भइरहेको उनले बताए । यसरी सचिव नभएका वडामा कतिपयमा करारका कर्मचारीले कार्य सम्पादन गरिरहेको र कतिपयमा अध्यक्षले सामान्य काम चलाइरहेको सचिव रोकायको भनाई छ ।
भूगोलका आधारले ठूलो नाम्खा गाउँपालिकामा ६ वटा वडामा तीन जना सचिव कार्यरत रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्रमा पुग्न तीन दिनसम्म पैदल लाग्ने नाम्खा गाउँपालिकामा सचिवकै अभावले गर्दा काम गर्न गाह्रो भएको स्थानीयबासीले गुनासो गरेका छन् । त्यस्तै खार्पुनाथ गाउँपालिकामा पाँच वटा वडामध्ये एक जना मात्र सचिव भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए ।
सचिवको अभावका कारण जन्म, मृत्यु, बसाइसराई, खाद्यान्न सिफारिसलगायतका समस्या परिरहेको सिमकोट गाउँपालिका–१ का लालबहादुर लामाले गुनासो गरे । त्यस्तै दैनिक प्रशासनिक काम पनि सचिवकै अभावले प्रभावित भएको लामाले बताएका छन् ।
आठ वटा वडा भएको सर्केगाड गाउँपालिकामा पनि हाल चार जना मात्र सचिव कार्यरत रहेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेश पाण्डेले बताए ।
सचिवको व्यवस्थाका लागि पटकपटक मन्त्रालयलाई पत्राचार गर्दा पनि हालसम्म सुनुवाई नभएकाले काम प्रभावित हुँदै गएको उनले बताए ।
त्यस्तै चङ्खेली गाउँपालिकामा ६ वटा वडामध्ये दुई जना मात्र सचिव कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव फुयालले बताए । टाढाका वडामा सचिवको व्यवस्था नहुँदा सेवाग्राहीले दुःख पाइरहेको उनले बताएका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका ६ वटा वडामध्ये दुई जना मात्र सचिव रहेको गाउँपालिकाले जनाएको छ ।
यसअघि सचिवको व्यवस्थापनका लागि पटकपटक मन्त्रालयसँग समन्वय गर्दा केही नलागेको र हाल भएका दुई जना सचिव पनि कार्यालयविहीन भएको अदानचुली गाउँपालिकाका स्थानीयबासी रामबहादुर ऐडीले गुनासो गरेका छन् ।
त्यस्तै स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष बित्दा पनि हुम्लाका सात वटै वडामा सचिव पूरा नहुँदा स्थानीयका कामकाज प्रभावित भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।
त्यसैगरी दक्षिणी क्षेत्रकै ताँजाकोट गाउँपालिकामा पनि पाँच वटा वडामध्ये दुई जना मात्र सचिव कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए । उक्त गाउँपालिकामा सचिव अभावले गर्दा जनताका काम प्रत्यक्ष प्रभावित भइरहेको उनले बताए ।