INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिका अध्यक्षको घरमा तोडफोड, अध्यक्षबाट प्रहरी माथि हातपात

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले कात्तिक ७ गते प्रहरीमाथि हातपात गरेका छन् । मानन्धरको घरमा युवाहरूको समूहले कात्तिक ६ गते तोडफोड गर्नुका साथै मानन्धरका दाजु सोमबहादुर मानन्धरलाई कुटपिट गरी घाइते बनाएको घटनामा उजुरी गर्दा पनि सुरक्षा निकाय उदासिन भएकोले आफूले आक्रोशित भएर हात उठाएको अध्यक्ष मानन्धरले बताए ।

हरिनास गाउँपालिका–६ दग्दीमा भएको भलिबल खेलमा चापाकोट नपा–४ दार्सिङका युवाहरूले मञ्च भत्काउनुका साथै टेबुल, कुर्सी तोडफोड गरी आक्रमणमा उत्रिएपछि आफूले प्रहरी प्रशासन लाई खबर गरेको तर सुरक्षाको लागि आएको प्रहरी प्रशासन नै आक्रमणकारीको संरक्षणमा लागेको अध्यक्ष मानन्धरको आरोप छ ।

सो घटनाका बारेमा बुझ्दा छानबिन गरी घटनाका दोषी उपर कानुन अनुसार कारबाही गरिने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए । हरिनासको घटनाबारे खबर पाउना साथ प्रहरीको टोली घटनास्थलतर्फ पठाएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ ।

जनताको सुरक्षा गर्ने जिम्मेवारी पाएको प्रहरी नै आक्रमणकारी जोगाउन लागेकोले आफूले आक्रोशित भएर एक झापड हानेको मानन्धरले बताएका छन् । दुई समूहबीच भएको ठेलमठेलमा परि प्रहरी जवान रामनारायण थारु घाइते भएको प्रहरीले जनाएको छ  ।

भदौ १३ गते साँझ गाउँपालिका कार्यालयबाट घरतर्फ फर्कँदै गर्दा अध्यक्ष खिमनारायण मानन्धरमाथि हरिनासको जङ्गलमा आक्रमणको प्रयास भएको थियो ।

सोही समूहले अहिले आफ्नो घरमा आक्रमण गर्दा प्रहरी उल्टै आक्रमणकारी जोगाउन लागि परेको अध्यक्ष मानन्धरको आरोप छ ।

अन्य

भिडियो