पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितको लाभग्रही सूचीमा रामेछाप नगरपालिका–८ भंगेरीका दशरथबाबु श्रेष्ठको नाम नराखेको कारण भूकम्प गएको तीन वर्षसम्म पनि घर बनाउन सकेका छैनन् ।
२०७२ सालमा गएको विनाशकारी भूकम्पले श्रेष्ठको घर भत्कँदा घरले किचेर उनका ९३ वर्षीय बावु जनक श्रेष्ठको मृत्यु भएको थियो । उनी लाभग्राहीको सूचीमा नाम समावेश गराउन कागजपत्रकै झमेलामा छन् तर लाभग्राहीको सूचीमा भने नाम छैन ।
“बुवाको ज्यान गएको पीडा त छँदैछ अहिले भूकम्प पीडितको लाभग्राहीको सूचीमा समेत नाम छैन । भूकम्प पीडितको फारममा नाम भरेँ तर आएन । गुनासो भर्दा घर मर्मत गर्नेमा मेरो नाम निस्किएछ । घर लड्यो । बाँकी केही छैन के मर्मत गर्नु ?”–श्रेष्ठले भने ।
पुनर्निर्माण प्राधिकरण रामेछापका निमित्त प्रमुख दामोदर घिमिरेले श्रेष्ठको घर भत्किएकाले उनको नाम लाभग्राहीको सूचीमा पर्नु पर्ने बताउँदै आपूmले उनलाई पुनर्निर्माण प्राधिकरणमा उजुरी गर्न सुझाव दिएको बताए ।
विनाशकारी भूकम्पले रामेछाप जिल्लामा ४१ जनाको ज्यान गएको थियो । तीनै मध्ये दशरथबाबु श्रेष्ठका पिता जनक श्रेष्ठ पनि एक थिए । श्रेष्ठ परिवार अहिले बाँसको छाप्रोमा बस्दै आएको छ । उनीहरुको अन्यत्र घर नभएको दशरथले बताए ।