INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सोको आरोपमा बृद्धमाथि कुटपिट

ठाकुरबाबा नपा–५ शाहीपुरका ६४ वर्षीय बृद्ध कुकुरा थारुलाई कथित बोक्सोको आरोपमा असोज ३१ गते राति सोही ठाउँका ४० वर्षीय नैपाल थारु, ३७ वर्षीय गोपाल थारुसहित ६–७ जनाको समूहले मरणासन्न हुने गरी कुटपिट गरेको पीडितले आरोप लगाए ।

गाउँघरमा सामान्य झारफुक गर्ने गरुवाको रूपमा परिचित कुकुरालाई आफ्नै गोत्र पर्ने नैपाल थारुले साँझ पख घरमा बोलाएर लगी ‘बोक्सो’ भएको भन्दै कुटपिट गरेको पीडितका छोरा श्रीराम थारुले बताए ।

श्रीरामका अनुसार नैपाल थारुले आफ्नो घरमा देउताको अगाडी अख्खो¥या ( गुरुवाद्वारा मन्त्र उच्चारण गरि व्यक्तिको शरीरमा देउता चढाएर काँप्दै मादलको तालमा नाच्ने खेल) खेल्न बोलाएर लगेका थिए । गुरुवाले मन्त्र उच्चारण गर्दै अन्य व्यक्तिहरू काँप्दै नाच्न थालेको र कुकुरा नकापे पछि उनले आपूmमा मन्त्र गरेर देउता पस्नबाट रोकेको भन्दै ‘बोक्सो’ भएको आरोप लगाउँदै कुटपिट गरेका थिए ।

कुकुराले भने आपूm बोक्सो नभएको र बृद्ध भएका कारण अख्खो¥या खेल्न मन नलागेको भन्दै आफ्नो बचाउ गरेपनि उनीहरूले देउताको बेतको लाठी र मुक्काले शरीरको विभिन्न भागमा प्रहार गरी घाइते बनाएका हुन् ।

उनको टाउकामा कुटपिटबाट घाउ बनेको छ । मुख सुन्निएको छ । कम्मर र ढाडमा लाठीको निलो डाम परेको छ । कुटपिटबाट थलिएका कुकुराको उपचार गर्न लैजाने तयारी भएको पीडितका छोरा श्रीरामले बताए ।

घटनाका बारेमा इलाका प्रहरी कार्यालय भुरीगाउँमा मौखिक जानकारी गराएको र लिखित रूपमा पनि उजुरी दिन जाने पीडितका छोरा श्रीराम चौधरीले बताए ।

इलाका प्रहरी कार्यालय भुरीगाउँका इन्स्पेक्टर प्रदिप डिसीले घटनाको बारेमा जानकारी पाएको बताए । त्यसबारेमा यथार्थ बुझ्न प्रहरीको टोली खटिसकेको र सत्यतथ्य पत्ता लगाएर अपराधिलाई तत्कालै कानुनी कारवाही गरिने इन्स्पेक्टर डिसीले बताए ।

अन्य

भिडियो