भूकम्प गएको साढे तीन वर्ष पुगिसक्दा पनि गुल्मीमा नौ प्रतिशतले मात्रै अन्तिम किस्ता पाउन सकेका छन् ।
बाँकी ९१ प्रतिशत भूकम्प पीडितले अन्तिम किस्ता नपाउँदा समस्या परेको छ । ४ हजार १ सय ४४ घरपरिवार पीडित मध्ये प्रति परिवारले सरकारबाट तीन किस्ता गरी कूल ३ लाख रुपियाँ अनुदान पाउँछन् ।
जिल्लाका भूकम्प पीडितलाई वितरण गर्नुपर्ने कूल रकम १ अर्व २४ करोड ३२ लाख हुन्छ । प्रक्रिया पुर्याएर आए सबै रकम लैजान पनि सक्छन् ।
तर, विभिन्न कारणले गर्दा अहिलेसम्म ९ दशमलव ३३ प्रतिशत अर्थात ३ सय ८७ परिवारले मात्रै तेस्रो किस्ताको रकम लिएको जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यलयले जनाएको छ ।
त्यस्तै ३ हजार ९ सय १६ लाभग्रहीले पहिलो किस्ता र १ हजार ७ सय १६ लाभग्राहीले दोस्रो किस्ताको रकम लिएका छन् ।
सेवाग्राहीलाई पहिलो किस्ता बापत ५० हजार रुपियाँ, दोस्रो किस्ता बापत १ लाख ५० हजार रुपियाँ र तेस्रो किस्ता बापत १ लाख रुपियाँ उपलब्ध गराउने व्यवस्था रहेको कार्यालय प्रमुख बैकुण्ठ अर्यालले जानकारी दिए ।
भूकम्प पीडितलाई हालसम्म ४५ करोड ९७ लाख ७० हजार रुपियाँ वितरण गरिएको जनाइएको छ । पहिलो किस्ता बापत १९ करोड ८५ लाख रुपियाँ, दोस्रो किस्ता बापत २५ करोड ७४ लाख रुपियाँ र तेस्रो किस्ता बापत ३८ लाख ७० हजार रुपियाँ वितरण गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
२ सय २८ लाभग्राहीले सम्झौता नै गरेनन्
जिल्लाका कूल २ सय २८ लाभग्राहीले रकम पाउनको लागि सम्झौता नै गरेका छैनन् । पहिलो किस्ताको रकम बुझेर पनि २ हजार २ सय लाभग्राहीले दोस्रो किस्ताको लागि निवेदन नै नदिएको कार्यालयले जनाएको छ ।
दोस्रो किस्ता बुझेर पनि १ हजार ३ सय ७९ जनाले तेस्रो किस्ताको लागि सम्झौता नगरेको कार्यालयका प्रमुख अर्यालले जानकारी दिए ।
गुल्मीमा भूकम्पले सबैभन्दा धेरै कालीगण्डकी गाउँपालिकामा क्षति पुर्याएको थियो । कालीगण्डकीमा १ हजार ७० घरहरू पुर्ण रूपमा क्षति भएका थिए । उक्त गाउँपालिकामा १ हजार ९ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । त्यस्तै ४ सय १६ लाभग्राहीले दोस्रो र १ सय ४२ लाभग्राहीले तेस्रो किस्ताको रकम लिएका छन् ।
झञ्झटिलो किस्ता प्रक्रिया
भूकम्पबाट प्रभावित लाभग्राहीहरूले भने किस्ता लिने प्रक्रिया निकै झञ्झटिलो भएको गुनासो गर्ने गरेका छन् ।
कतिपय लाभग्राही रकम लिने प्रक्रिया नै नबुझेर अल्मलिएका समेत भेटिन्छन् । घरमा पढेलेखेको सदस्य नहुनुँ, इञ्जिनियर समयमा नआउनु, कार्यालयमा झुठो विवरण आउनु लगायतका समस्या भूकम्प पीडितका छन् ।
साथै त्यसै माथि किस्ता प्रक्रिया झञ्झटिलो भएपछि अझै समस्या भएको धुर्कोट गाउँपालिका–४ जैसीथोककी रुमकला पोखरेलले बताइन् ।
‘पटक–पटक वडा कार्यालयमा धाइरहनुपर्ने, त्यसमाथि पनि इञ्जिनियर आउने समय थाहै हुँदैन ।’–उनले भनिन्–‘किस्ता बुझ्ने प्रक्रिया धेरै झञ्झटिलो छ ।’
त्यसका साथै उनले कागजी प्रक्रिया धेरै भएको, बोलाएको समयमा इञ्जिनियर नआएको र खातामा रकम नै नआए पनि जनप्रतिनिधिले रकम आएको भनी सदरमुकाम तम्घास पठाउँदा भने झनै समस्या परेको बताइन् ।