वाइसिएल नेपाल राजविराज नपा–१ का सहसंयोजक सोही ठाउँका २१ वर्षीय प्रेमकुमार यादवलाई राजविराज नपा–११ का २०–२२ जना युवाहरूको समूहले आक्रमण गरी हत्या गरेको भन्दै स्थानीयबासीले असोज २५ गते राजविराजमा प्रदर्शन गरेका छन् ।
राजविराज नपा–२ स्थित पिस जोन बोर्डिङ्ग स्कुल अगाडि बाटोमा असोज २३ गते बिहान नौ बजे यादवलाई घेरा हाली राजविराज नपा–११ फर्सेठका युवाहरूको हतियारधारी समूहले आक्रमण गरेर गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ ।
घाइते यादवको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा असोज २४ गते राति मृत्यु भएपछि असोज २५ गते कोशी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टम पश्चात असोज २५ गते शवलाई राजविराज ल्याइएको हो ।
पोष्टमार्टम पश्चात स्थानीयबासीले राजविराजमा शवसहित नगर परिक्रमा गर्दै हत्याराहरूलाई गिरफ्तार गरी कडा कारवाही गर्न माग गरे ।
व्यानर र शवसहित असोज २५ गते साँझ निस्किएको जुलुसले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगी नाराबाजी गरेका छन् ।
हत्याराहरूलाई कारवाही गर्न माग गर्दै प्रदर्शनकारीहरूले ब्यानरमा हत्याराहरू भन्दै जयप्रकाश यादव, आनन्दकुमार यादव, नागेश्वर यादव, राजाराम, ओमप्रकाश यादव, संजय यादव, धर्मेन्द्र यादव, गुन्जेश सिंह, मिथलेश यादव र सरोज यादवको नाम उल्लेख गरेका छन् ।
पुरानो रिसइवीका कारण यादवको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले हत्यामा संलग्नहरूको खोजी भइरहेको बताए ।
मृतकका बावु भन्नालाल यादव राजदेबी ठाकोदेबी जोगेन्द्र माध्यमिक विद्यालय राजविराजका व्यवस्थापन समितिका सदस्य एवम् तत्कालिन नेकपा माओवादी केन्द्रका राजविराज नगर कमिटी संयोजक हुन ।
यसैबिच प्रदेश २ का सांसदद्वय रुवीकुमारी कर्ण र मनिषकुमार सुमन, पूर्व सिञ्चाई मन्त्री उमेशकुमार यादव तथा वाइसिएल नेपाल सप्तरीका अध्यक्ष विनोदकुमार यादव र युवा सङ्घ नेपाल सप्तरीका उपाध्यक्ष छोटेलाल यादवले छुट्टा–छुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको घोर निन्दा गर्नुका साथै हत्यामा संलग्न अपराधिलाई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।