INSEC Online

📅 २०८३ जेष्ठ २१

गर्भवती ‘बालिका’ र ‘बालिका आमाबाट जन्मिएका बच्चाहरूमा स्वास्थ्य समस्या

सुदुरपश्चिम प्रदेशमा कम उमेरमै गर्भवती हुने बालिका र उनीहरूबाट जन्मिएका बच्चाहरूको स्वास्थ्यमा समेत समस्या बढ्दै आएको पाइएको छ ।

उमेर नपुगी गर्भवती हुँदा पाठेघर खस्ने, विभिन्न रोगको सङ्क्रमण हुने तथा मृत्युको धैरै जोखिम हुने र उनीहरूबाट जन्मिएका शिशुलाई पनि पछि गएर हृदयरोग र मधुमेहको समस्या हुने गरेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य इकाईका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।

उमेर नपुगी गर्भवती भएका किशोरीबाट सुदूरपश्चिम प्रदेशभरी ३ हजार २७ शिशु जोखिमयुक्त तौलका जन्मिएको कुँवरले बताए । उनले भने–‘सामान्य अवस्था हुनका लागि शिशुको तौल साढे दुई केजी हुनपर्छ ।’

यस प्रदेशका कैलालीमा २ हजार ६ सय ९६, कञ्चनपुरमा १ हजार ५ सय ६ , अछाममा १ हजार २ सय ५१, बझाङमा १ हजार १ सय ५३, डोटीमा १ हजार ७३, बैतडीमा ८ सय ७२, डडेल्धुरामा ६ सय ४३ र बाजुरामा ५ सय ९२ जना किशोरी कम उमेरमै गर्भवती भएको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।

कम उमेरका गर्भवती भएका ‘बालिका’बाट जन्मिएका शिशुहरूको तौल र उनीहरूको स्वास्थ्य समेत जोखिमयुक्त रहेको तथ्याङ्कले देखाएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य इकाईका अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा गत आर्थिक वर्षमा उमेर नपुगी गर्भवती भएका ९ हजार ७ सय ८६ गर्भवती स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न आएका थिए ।

मन्त्रालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बालविवाह न्यूनीकरण हुनुको साटो झन्झन् बढ्दै जानु स्वास्थ्य क्षेत्रका लागि चुनौति रहेको बताए ।

सूचना प्रविविधको दुरूपयोगले किशोरकिशोरीहरूमा कम उमेरमै विवाह गर्ने प्रवृत्ति देखिएको छ । निर्देशक डा. अवस्थीले भने–‘मातृशिशु सुरक्षाका लागि बालविवाह विरूद्धका अभियान तीव्र पार्नु जरूरी रहेको छ ।’

महिलाहरूकै अगुवाईमा निगरानी समूह पनि बनाई सचेतनाका कार्यक्रमहरू अघि बढाइए पनि उमेर नपुगी गर्भवती हुने, घरमै प्रसूति हुने जस्ता कार्यमा न्यूनीकरण हुन नसक्दा महिलाहरूले अकालमै ज्यान गुमाउनु परेको महिला अधिकारकर्मी सोनी भण्डारीले बताइन् ।

बालविवाहलाई कानुनी रूपमा मान्यता नदिएको भए पनि यस प्रदेशका ग्रामीण क्षेत्रमा कम उमेरमै विवाह गर्नेको सङ्ख्या बढ्नुको साथै कम उमेरमा नै गर्भवती हुनेको सङ्ख्यामा समेत कमी हुन सकेको छैन ।

अन्य

भिडियो