१२ वर्षीया बालिका बलात्कार भएको घ६नामा पीडित बालिकाको स्वास्थ्य परीक्षणका क्रममा बलात्कार नभएको प्रतिवेदन दिएको आरोपमा दुई जना चिकित्सक कारबाहीमा परेका छन् ।
भदौ ८ गते बलात्कृत बालिकाको नमूना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा. विजयकुमार सिंह र डा. रम्भा गोइत कारबाहीमा परेका हुन् ।
नेपाल मेडिकल काउन्सिलले उनीहरुले न्युनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय गरेको हो ।
दुई डाक्टरले भदौ ९ गते पीडित बालिकाको नमूना परीक्षण गर्दा बलात्कार नभएको प्रतिवेदन दिएका थिए । त्यसपछि सिरहा अस्पतालमा डा. राकेशकुमार सिंहले भदौ २५ गते सोही बालिकाको नमुना परीक्षण गर्दा बलात्कार भएको प्रतिवेदन आएको थियो ।
यस विषयमा अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय गरेको हो ।
जनकपुर र सिरहामा बालिकाको नमूना परीक्षणको फरकफरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा. कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।
समितिले वयानका लागि बोलाउँदा अटेर गरी बसेको भन्दै जिल्ला अस्पताल सिरहाका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको समितिका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । समाचार साभारः अनलाइन खबर