ढुवानी समस्या भएपछि हुम्लामा खाद्यान्नको अभाव भएको छ । चार महिनादेखि हुम्लामा चामल अभाव हुँदै आएको छ । सडक सञ्जालले नछोएको हुम्ला जिल्लाका ग्रामीण भेगमा नेपाल खाद्य संस्थानको चामल पुग्न नसकेपछि खाद्यान्नको अभाव भएको हो ।
यो वर्षमात्र नभएर हरेक वर्षखाद्यान्नको अभावमा दसैँ तिहार मानाउनु परेको सिमकोट गाउँपालिका-२ का भुवन भण्डारीको गुनासो छ ।
सर्केगार्ड, श्रीनगर र दार्माका सबै डिपोमा पनि चामल नभएको सर्केगाड गाउँपालिकाकी स्थानीय फुलमाया परियारको भनाई छ ।
गत वर्ष मङ्सिरमा एक पटकमात्र विक्री गरेको र अरू चामल नआएको चङ्खेली गाउँपालिका-१ का वडा अध्यक्ष नन्दबहादुर बोहोराले आरोप लगाए । मुगुको स्थलमार्गबाट ढुवानी भएको नेपाल खाद्य संस्थानको चामल १ नम्बर वडामा झार्न आग्रह गर्दा ठेकेदारले नमानेको बोहोराले बताए ।
संस्थानको दुई डिपो र तीन वटा विक्री केन्द्र खाली रहँदा साविकका ११ गाउँ विकास समितिका नागरिकले अनुदानको चामल पाउन सकेका छैनन् । डिपोमा चामल नभएपछि चार वटा विक्री केन्द्र चार महिनादेखि बन्द रहेको छ ।
हुम्लाको सदरमुकाम सिमिकोटमा पनि २ सय ६८ क्विन्टल चामल मौज्दात छ । तर, सर्केगाड, श्रीनगर र दार्माका डिपो दुई महिना अघिनै रित्तिसकेका छन् । खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टका अनुसार मौज्दात चामल दसैँ र तिहारमा सदरमुकाममा बाँड्ने तयारी छ तर प्रति घर दुरीको पाँच केजीका दरले मात्र ।
सुर्खेतमा रहेको चामल अभावग्रस्त क्षेत्रमा पठाउन कुनै पहल भएको छैन । ‘हामीसँग २२ हजार क्विन्टल चामल छ ।’-नेपाल खाद्य संस्थान सुर्खेत शाखाका निमित्त प्रमुख जीवननाथ कँडेलले भने-‘हामीसँग २२ हजार क्विन्टल चामल छ र हामी जतिबेलापनि पठाउन तयार छौँ तर कतैबाट पनि पत्र आएको छैन ।’
कर्णालीको उच्च हिमाली भेग हुम्लाका अधिकांश ठाँउमा खेतियोग्य जमीन नहुँदा खाद्यान्नको समस्या हुने गरेको छ । खाद्य संस्थान र ठेकेदारले चामल समयमा ढुवानी गर्न नसक्दा प्रत्येक वर्ष हुम्लामा चामलको समस्या हुने गरेको हो ।
ठेकेदारको मनपरीले ०७४/७५ को १ सय ५० क्विन्टल चामल पुग्न सकेको छैन । ठेकेदारको लापरवाहीले हुम्लामा गत वर्षपनि खाद्यान्न पुगेन । हुम्लाको सर्केगाड डिपोमा आर्थिक वर्ष ०७४/०७५ को लागि आएको झण्डै डेढसय क्विन्टल चामल अझै पुगेको छैन ।
हुम्ला जिल्लामा वार्षिक खाद्यान्न अपुग हुने गरेको छ । गतवर्ष हुम्लामा ८ हजार ४ सय १५ मेट्रिक टन खाद्यान्न अपुग भएको खाद्य संस्थानले जनाएको छ । खाद्यान्न समस्या भएपछि अघिल्लो वर्ष झैँ यो वर्षपनि हुम्लामा रोटी खाएर दसैँ मनाउनु पर्ने बाध्यता रहेको स्थानीयको भनाई छ ।