१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैल्यशिखर नगरपालिका–४ का ३५ वर्षीय जयसिंह बोहरालाई असोज १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १५ गते बलात्कार गरेको आरोपमा उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा बोहरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिए ।
पीडितले आफूलाई बलात्कार गरेको भन्दै फोनमार्फत जानकारी गराएपछि गोकुलेश्वरबाट प्रहरी परिचालन गरी नियन्त्रणमा लिइएको उनले बताए । आरोपित बोहरालाई असोज १६ गते बेलुकीसम्म जिल्ला प्रहरी कार्यालय पुर्याइने जनाइएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण हुन बाँकी रहेको छ । घटनास्थल गोकुलेश्वरबाट टाढा रहेको कारण ढिलाइ भएको प्रहरीले जनायो ।