कारागार भित्रका कैदीबन्दीको मानव अधिकारलाई स्थापित गर्ने उद्धेश्यले इन्सेकसँगको सहकार्यमा प्रदेश १ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले असोज १६ गते कारागारमा हास्यव्यङ्ग्य शिविर सञ्चालन गरेको छ ।

‘कारागारमा मानव अधिकार प्रवर्धन’ नाम दिइएको शिविरमा सिस्नोपानी नेपालका चर्चित कलाकारहरूको प्रस्तुती रहेको थियो ।
कलाकारहरूले हास्यव्यङ्ग्य, सङ्गीत, उखानटुक्का, कविता, नृत्यको माध्यमबाट कैदीबन्दीको अधिकारलाई प्रवर्धन गर्ने सन्देशहरू प्रवाह गरेका थिए ।
कार्यक्रममा चर्चित हास्यकलाकार मनोज गजुरेलले कारागारमा बसेका कैदीबन्दी भोलिका समाज परिवर्तनका सम्बाहक मात्र नभई देशको बागडोर सम्हाल्ने व्यक्ति पनि भएकाले निराश भएर नबस्न सुझाब दिए ।

उनले भने–‘कैदीबन्दी भोलिको विद्धान, विश्लेषक, वकिल, राजनीतिको मियो हुन सक्छन्, त्यसैले आफूलाई सम्हाल्नुस, साहस बोक्नुस, जेल केवल संयोगले बस्ने हो ।’
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य नेताहरूको इतिहास कोट्याउँदै उनले भने–‘देशको बागडोर सम्हाल्ने नेताहरूको इतिहास हेर्नुस यस्तै जेल जीवन बिताएर गएका हुन् । तपाईहरू पनि यो देशको भोलिको सम्वाहक हो । त्यसैले साहस र धैर्यताको खाँचो देखेको छु ।’
आफ्नो कलाकारिता क्षेत्रबाट कैदीबन्दीलाई हसाउँदै आकर्षित गराएका गजुरलले जेल जीवन पछिको सामाजिक जीवन कैदीबन्दीका लागि निकै सकसपूर्ण रहेकाले पुनःउत्थानका लागि सरकार र नागरिक सचेत रहनु पर्ने बताए ।
कार्यक्रममा बोल्ने वक्ता र कलाकारहरूले जेल जीवन बिताएका कैदीबन्दीलाई समाजका व्यक्तिले हेर्ने दृष्टिकोण फरक बनाउने गरेकाले सामाज परिवर्तनको खाँचो रहेको औँल्याए ।
उनीहरूले कैद भुक्तानी गरिसकेकालाई अहिले पनि अपराधि हो, यो फलानो मुद्दामा थुनिएर आएको भन्ने, हासिमजाक गर्ने, होच्याउने प्रवृत्ति समाजमा अहिलेपनि कायम रहँदा जेलबाट सुधार भएर घर गएका व्यक्तिको मनोवल घटने र सुधारको साटो पुनः त्यस्तै कार्यमा लाग्न सक्ने सम्भावना रहेकाले सामाजिक मर्यादामा परिवर्तनको खाँचो रहेको बताए ।
कार्यक्रममा हास्य कलाकार तथा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, महासचिव टङ्क आचार्य, मनोज गजुरेल, गायक शिशिर योगी, योग गुरु सुवासचन्द वडाललगायतका कलाकारले कलाकारितासँगै कैदीबन्दीलाई तीन घण्टासम्म मनोरञ्जन दिएका थिए ।
चर्चित गायक शिशिर योगीको ‘यो देशमा एउटा मानिस खोजी रहेछु’ गितले कैदीबन्दीको ध्यानलाई अझ केन्द्रित गर्यो, उनी लगत्तै हसाउन ‘सरकारलाई सघाउ’ शीर्षकको कविता लिएर मञ्चमा प्रवेश गरेका लक्ष्मण गाम्नाङ्गेको प्रस्तुतीले कैदीबन्दीलाई मनोरञ्जन दिएको थियो ।
कार्यक्रममा प्रदेश सांसद हिमाल कार्कीले कारगार यातना केन्द्र नभई सुधारगृह रहेको बताए । उनले संविधान र कानुनमा लेखेर मात्र नहुने भएकाले व्यवहारिक परिवर्तन र कार्यान्वयनको खाँचो रहेको बताए ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले कैदीबन्दीको हकमा संविधानले व्यवस्था गरेको मानव अधिकारलाई पालना गर्न सबै क्षेत्रको साथसहयोग अपरिहार्य रहेको बताए । उनले सामाजिक त्रुटि र विभेदित दृष्टिकोणका कारण कैदीबन्दीलाई हेर्ने सोचाईमा फरक भएको बताए ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले समाज रुपान्तरण हुन नसक्दा कैदीबन्दी प्रतिको सामाजिक व्यवहारमा परिवर्तन आउन नसकेको बताए । उनले कैदीबन्दीलाई अहिलेपनि समाजले स्वीकार गर्न सक्ने अवस्था नरहेकाले सोचाई र बुझाईमा फरक बनाउनु पर्ने अवस्था आएको बताए ।
कार्यक्रममा इन्सेक प्रतिनिधि भरत खड्काले जिल्लाको मानव अधिकारको अवस्था विश्लेषण गर्दै संविधानले व्यवस्था गरेको मानव अधिकारका सवाल, मानव अधिकारका आधारभुत सिद्धान्त, सन्धिसम्झौताका विषयमा चर्चा गरेका थिए ।
त्यसक्रममा कैदीबन्दीहरूले कारागार भित्र बिजुली, शुद्ध पीउने पानीको अभाव, क्षमताभन्दा बढी बस्नु पर्दाका पीडाको बारेमा बताएका थिए ।